वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जंगलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न जानुभएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन् । कुलो खन्न २५ जनाको समूह उक्त वनमा गएको थियो । उनलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो ।

उनको निसर्ग अस्पतालमा शुक्रबार बिहान १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताए ।