चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर २.३ प्रतिशत मात्र

१३ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.३ प्रतिशतमा झर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन(२०७६–७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने अनुमान रहेको जानकारी दिएका छन् ।

यसअघि वैशाख १७ मा केन्द्रिय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने विभागको भन्दा ०.०३ प्रतिशत बढाएर अनुमान सार्वजनिक गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो ।

तर, गत फागुनपछि शुरु भएको कोरोना भाइरसको संक्रमण र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर नराम्रोसँग खुम्चिने भएको अर्थमन्त्री खतिवडाले बताएका छन् ।

यसअघि गत आर्थिक वर्ष २०७५र७६ मा नेपालको ६.७५ प्रतिशत आर्थिक वृद्धि भएको
थियो । आर्थिक वर्ष २०७४र७५ मा भने ६.३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको विभागको तथ्यांकमा उल्लेख छ ।

कोरोनाले खासगरी सेवा क्षेत्रको वृद्धिदरलाई नराम्रोसँग प्रभावित बनाएको हो । बजेटको मध्यावधि समीक्षामा पनि अर्थमन्त्री डा. युवराज खतिवडाले लक्ष्यको हाराहारीमै आर्थिक वृद्धि हात पार्ने दावी गरेका थिए ।