८चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी तथा सार्वजनिक निकायमा कार्यालय समयभित्र बस्ने बैठकहरुमा सहभागी सरकारी पदाधिकारी र कर्मचारीलाई भत्ता दिने काम रोक्न निर्देशन दिएको छ । आयोगले विदा वा काजमा रहेको अवधिमा कार्यालयको बैठक वा अन्य निर्णय प्रकृयामा सहभागी हुने र बैठक भत्ता लिने कार्य रोक्न समेत निर्देशित गरेको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार विभिन्न मन्त्रालयहरुलाई पत्राचार गर्दै बैठक भत्तामा देखिएका विकृतिहरु हटाउन सुझाव दिइएको हो । कानुनअनुसार हुनुपर्ने कुरा नभएको भए आयोगको सुझावअनुसार गर्न सुझाव दिएका हौं,’ उनले भने ।
सरकारी कार्यालयहरुमा अनावश्यक बैठक बस्ने र भत्ता लिने प्रचलन छ । भत्ताकै लागि बैठक बसाल्ने र कार्यालय समयभित्र कार्यलयको कामभन्दा यस्ता बैठकमा सहभागी हुने विकृति हरेकजसो सरकारी निकायमा छ । अझ कार्यालय समय सकिएपछि पनि अनावश्यक बैठक बसाल्ने गरिएको छ ।
कार्यालय समयभित्र नियमित कामकाज र छलफलका लागि बस्ने बैठकमा समेत भत्ता बाँड्ने विकृति पनि छ । विदामा बसेका कर्मचारीहरु बैठक भत्ता बुझ्नका लागि बैठकहरुमा जाने गरेका छन् । बैठक भत्तामा देखिएका यस्ता विकृतिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने गरेको छ ।