आगोमा जलेर घाइते बाबु छोरीको उपचारका क्रममा मृत्यु

८ चैत्र, सुर्खेत । कालीकोटमा आगोमा जलेर घाइते बाबु छोरीको उपचारका क्रममा मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका–५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते सोही ठाउँका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको हो ।

यही चैत २ गते बाख्रा चराउन गएको बेला गाउँ नजिकैको सामुदायिक वनमा लागेको डढेलोमा परेर बाबुछोरी गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि गत शनिबार साँझ हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पतालमा सुर्खेत ल्याइएको थियो ।

यसअघि सोमबार दिउँसो छोरीको र बुवाको बुधबार बेलुका उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका अफिस सेक्रेटरी दिपक गिरीले जानकारी दिए । जलेर गम्भीर घाइते भएका नन्दरामको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।