फागुन २९ गते । वडास्तरीय गाउँपालिका अध्यक्ष कपको उपाधि विजेता खेलाडीहरुका लागि आज सम्मान कार्यक्रम सम्पन्न भएको छ । पर्वतको जलजला गाउँपालिका–४, फट्केढुङ्गा वडा कार्यालयले वडाबाट प्रतिनिधित्व गर्दै विजेता बनेका खेलाडीहरुलाई सम्मान गरेको हो ।
जलजला गाउँपालिका–४, खोलाखेतको खेलमैदानमा सोमबार सम्पन्न दोस्रो अध्यक्ष कपको उपाधि जलजला–४, फट्केढुङ्गाले जितेपछि वडाबाट खेलमा सहभागी युवा क्लबका खेलाडीहरुलाई सम्मान गरिएको वडाले जनाएको छ ।
४ नम्बर वडा कार्यालय परिसरमा बाजागाजासहित र अबिर जात्रा गरेर खेलकुदअन्तर्गत पुरुष भलिबल प्रतियोगितामा सहभागी भई विजेता बनेका खेलाडीहरुको सम्मान गरिएको थियो ।
खोलाखेतमा सम्पन्न फाइनलमा ४ नम्बर वडा फट्केढुङ्गाले ७ नम्बर वडा धाईरिङलाई पराजित गरी दोस्रो गाउँपालिका अध्यक्ष कपको उपाधि जितेको थियो ।
उपाधि जित्दै ४ नम्बर वडाले प्रथम पुरस्कार एकलाख एकहजार एकसय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । सम्मान कार्यक्रममा विजेता भलिबल खेलाडीहरुलाई अबिरको टिका, खादा र माला लगाएर हौसला प्रदान गरिएको थियो । विजेता खेलाडीहरुलाई ४ नम्बर वडा अध्यक्ष भरत क्षत्रीसहित जनप्रतिनिधि, आमा समूह र स्थानीयले सम्मान गरेका थिए ।
खेलाडीहरुलाई सम्मानपछि बोल्दै वडाध्यक्ष क्षत्रीले भलिबल प्रतियोगितामा वडाबाट सहभागी खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी उपाधि हात पारेकोमा धन्यवाद दिनुभयो । उहाँले वडास्तरमा खेलकुदजन्य गतिविधिहरुलाई प्राथमिकता दिइएको बताउँदै खेलाडी र खेल क्षेत्रको विकास गर्नको लागि आफूले पालिकामा पनि आवश्यक पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले पर्वत जिल्ला कमिटी सदस्य टेकबहादुर जिसी, जलजला गाउँपालिका कमिटीको कार्यवाहक अध्यक्ष बाबुराम कार्की, वडा सदस्य तेज दमाई, फट्केढुङ्गा आधारभूत विद्यालयका प्रधानाध्यापक बलराम रेग्मी र सिद्धबाबा टोल विकास संस्था थामाका अध्यक्ष निरबहादुर थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो । वडाध्यक्ष क्षत्रीको अध्यक्षता, सदस्य बेलबहादुर जिसीको स्वागत र वडा सचिव भूवनबहादुर मल्लको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।