Breaking News

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सम्बन्ध तोड्नुका विभिन्न पाँच कारण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरणबारे प्रतिनिधि सभाको बैठकलाई जानकारी गराएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सम्बन्ध तोड्नुका विभिन्न कारण सुनाएका हुन् ।

कांग्रेसबाट असहयोग
माओवादीले सघाए अनुसार कांग्रेसबाट सहयोग नपाएको पनि प्रधानमन्त्री प्रचण्डले बताए । ‘निर्वाचनमा माओवादी केन्द्रले जुन तहमा कांग्रेसलाई सघायो, त्यही तहमा सहयोग पाएन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसले आपसी विश्वास कमजोर बनाएकै थियो ।’

कांग्रेससँगको सम्बन्ध तोडिनुका कारणहरु सुनाउँदै प्रचण्डले भनेका छन्, ‘गत आम निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट नेतृत्व पछि हट्यो । एउटा परिस्थतिमा फेरि जोडिएपछि कोशी प्रदेशमा त कांग्रेसको एउटा समूहले विद्रोह नै गर्यो ।’

कांग्रेसका तर्फबाट माओवादीप्रति असहयोग हुँदा नेतृत्व मौन रहेको उनले बताए । उनले भने, ‘गठबन्धनको नैतिकताको कसीमा त्यो (कोशीको विद्रोह) विद्रोह दण्डित हुनुपर्ने थियो तर भयो पुरस्कृत । राष्ट्रिय सभा निर्वाचनमा त्यो समूहले माओवादी उम्मेदवारलाई अन्तर्घातबाट पराजित नै गर्यो ।’

चुनावी गठबन्धन
कांग्रेस महासमिति बैठकमा विना सन्दर्भ सत्ता गठबन्धनको निन्दा सुरू भएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले भने, ‘जुन गठबन्धनले कांग्रेसलाई पहिलो पार्टी बनाएको थियो । निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरूमाथि अनावश्यक र बेसमयको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक थिएन ।’

कांग्रेसले महासमिति बैठकले चुनावी गठबन्धनलाई राजनीतिक एजेन्डा बनाएको थियो । बैठकबाट चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्ताव सर्वसम्मत पारित भएको थियो ।

धर्मनिरपेक्षता विरोधी
कांग्रेसको महासमिति बैठकमा धर्मनिरपेक्षता विरोधी आवाज उठेको थियो । बैठकमा झन्डै ८ सय महासमिति सदस्य र ३८ केन्द्रीय सदस्यले सनातन हिन्दु राज्य नेपाल कांग्रेसको नीति हुनुपर्ने पक्षमा हस्ताक्षर संकलन गरिएको थियो ।

नेता शंकर भण्डारी नेतृत्वको सनातन हिन्दु राष्ट्र पुनर्स्थापना महाअभियानले कार्यक्रम स्थलमा हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर संकलनका लागि स्टल नै राखेको थियो । उक्त कारण पनि गठबन्धन टुटाउने एक कारण बनेको प्रचण्डले बताए ।

जनयुद्धमाथि प्रहार
प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धको विषयमा महासमितिमा प्रस्तुत प्रतिवेदनको सन्दर्भलाई समेत कांग्रेससँगको गठबन्धन छाड्नुपरेको बताएका छन् । ‘महासमितिमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धको न्यूनीकरण मात्र होइन, दानवीकरण नै गरियो’ प्रचण्डले भने ।

नयाँ समीकरण पनि जोखिमपूर्ण नरहेको बोध भएको उनले बताए । ‘यो (नयाँ समीकरण) कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अब यो कति परिणाममुखी हुन्छ, त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्ने मेरो विश्वास छ ।’

कसैलाई आफ्नो कदम अस्थिरता लाग्न सक्ने कसैलाई गतिशीलता लाग्न सक्ने उल्लेख गर्दै उनले थपे, ‘तर यसको केन्द्रमा म छैन, मेरो पद छैन, देश र जनताको हित छ । आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्न प्रतिबद्ध छु ।’

मन्त्री फेरबदलमा अड्को
प्रधानमन्त्री प्रचण्डले मन्त्री फेरेर भएपनि सरकारको काम कारबाहीलाई तीव्रता दिने सार्वजनिक अभिव्यक्ति दिए । तर, कांग्रेसले मन्त्री फेर्ने विषयमा सहमति दिन मानेन । सो विषयमा पनि गठबन्धन टुट्नुको कारण प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

उनले भनेका छन्– ‘एक वर्ष कार्यकाल पुरा भएपछिको सम्बोधनमा त मैले कार्यक्षमता प्रमाणित नभए वा देशमा सकारात्मक परिवर्तन ल्याउन र आशा जगाउन नसके पद ओगटिनरहने घोषणा नै गरेको थिएँ । मेरो यो तहको प्रतिवद्धतामा गठबन्धनका केही घटकबाट मैले अपेक्षित साथ पाइनँ ।’

‘मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्र निर्माणमा लाग्ने ? मैले दोस्रो विकल्प रोजें’ प्रधानमन्त्री प्रचण्डले भने ।