Breaking News

भरतपुरलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्य बनाउन सकिने

भरतपुर । चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भरतपुरलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्य बनाउन सकिने बताएका छन् ।

उद्घाटन समारोहमा अध्यक्ष नेपालले बोल्ने क्रममा यहाँको विकास र पर्यटकीय सम्भावनाले भरतपुरलाई अन्तर्राष्ट्रिय पर्यटकीय थलो बनाउन सकिने बताएका हुन् । यहाँ गैँडा, पाटेबाघ, घडियाल गोही, साइबेरियन चरा र वनस्पति देख्न पाइन्छ’, उनले भने, ‘यहाँको प्राकृतिक विविधताले पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।’ उनले चितवनमा विभिन्न जातजाति, भाषाभाषीको बसोबास रहेको भन्दै यहाँको विविधता हेर्न पर्यटक आउने गरेको बताए ।

नेपालको केन्द्रमा रहेको भरतपुर महानगरपालिका उत्कृष्ट नगरपालिकाको दर्जा पाएको भन्दै यहाँको विकास निर्माण अन्य पालिकाका लागि पनि उदाहरण बनेको उल्लेख गरे ।

विकासका लागि सडक पूर्वाधार मात्र नभई अन्य सूचकसमेत उत्कृष्ट हुनुपर्ने भन्दै त्यसमा भरतपुरले ध्यान दिएको बताए । जनताले दिएको सल्लाह र आलोचनाले सही बाटोमा हिँड्न प्रेरित गर्ने भन्दै राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई जनताले नै दण्डित गर्ने अध्यक्ष नेपालले बताए ।

अध्यक्ष माधवकुमार नेपाल