मोरङको बेलबारीमा तीन वटा सवारी साधन ठोक्किदा दुई जनाको मृत्यु तीन जना घाइते

१८ फागुन, विराटनगर । आज बिहान मोरङको बेलबारीमा तीन वटा सवारी साधन एक आफसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

पूर्व-पश्चिम लोकमार्गको बेलबारी नगरपालिका-१ र ३ को सिमानामा टिपर, बस र बोलेरो जीप ठोक्किएर दुर्घटना हुँदा बोलेरोमा सवार दुई जनाको मृत्यु भएको हो । तीन जना गम्भीर घाइते हुन् ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको थियो ।

बसलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे१ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दियो ।

दुर्घटनामा बोलेरोमा सवार झापाको कमल गाउँपालिका(२ का ५१ वर्षीय यदुकान्त भट्टराई र पहिचान नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले बताएको छ ।

बोलेरोमा सवार झापाको कमल गाउँपालिका-२ ५५ वर्षीय हरि खनाल, ५० वर्षीया गायत्री भट्टराई र पहिचान नखुलेका अन्दाजी ४० वर्षीया पुरुष गम्भीर घाइते छन् । उनीहरुको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

घटनास्थलबाट ५ जना घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगर पठाएको थियो । घाइतेमध्ये २ जनाको बाटो मै मृत्यु भएको हो ।

दुर्घटनामा परेर बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त बनेको छ । टिपरको अगाडिको भागमा क्षति पुगेको छ । बसको भने पछाडिको भागमा सामान्य क्षति भएको प्रहरीले बताएको छ ।