भक्तपुरकी ४२ बर्षीय कोराना संक्रमित महिला नगर वडा सस्दय

१० जेठ, काठमाडौं । भक्तपुरकी ४२ वर्षीया कोरोना संक्रमित महिला वडा नम्बर ९ की सदस्य रहेको खुलेको छ । उनी राहत वितरणलगायतका काममा सक्रिय थिइन् । त्यहीक्रममा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन्, ‘आज बिहानबाट कन्ट्याक्ट ट्रेसिङ गर्ने र उहाँको सम्पर्कमा आएकाहरुलाई पीसीआर परीक्षण गर्ने लगायतका काम हुन्छ ।’

उनको घरमा श्रीमान र छोराछोरी छन् । उनी मुटुको बिरामी थिइन् । विगतमा उनको ओपन हार्ट सर्जरी गरिएको थियो । त्यसैले उनले घरमै बस्ने र अस्पताल नजाने इच्छा गरेकी थिइन् । अस्पतालमा जस्तो सावधानी घरमा नहुने भनेर सम्झाएपछि उनी अस्पताल जान तयार भएकी छन् ।

भक्तपुरकी प्रजिअ पाण्डेले भनिन्, ‘सुरुमा म घरमै बस्छु भन्नु भएको थियो तर सबैको सल्लाहअनुसार पाटन अस्पताल लगिएको छ ।’

स्वास्थ्य मन्त्रालयले शुक्रबार बेलुका सार्वजनिक गरेको संक्रमितहरुको विवरणमा भक्तपुर नगरपालिका ९ की ४२ वर्षीया महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य संक्रमितहरु बारा जिल्लाका ६ जना, सप्तरी र मकवानपुरका एक–एक जना छन् ।

यीसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ५ सय १६ पुगेको छ । तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ७० जना उपचारपछि निको भएर घर फर्र्िकएका छन् ।