काठमाडौंको बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी हुँदा पैसा समेत जले

काठमाडौंको बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा रहेको निवासमा आगलागी हुँदा पैसा पनि जलेको छ।

आइतबार दिउँसो करिब २ बजे लागेको आगलागीमा पैसा पनि जलेको हो।

प्रहरी वृत्त बानेश्वरका डिएसपी शिवराज बुढाथोकीका अनुसार एक सय, पाँच सय र हजार रुपैयाँका नोट जलेको अवस्थामा फेला परेको छ।

‘कति रकम जल्यो यकिन भइसकेको छैन,’ उनले भने।

उनकाअनुसार सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख सि.डि.ई नारायणदत्त भण्डारीको निवासमा आगलागी भएको हो।

त्यो निवासमा अर्कै एक जना युवक बस्दै आएको खुलेको प्रहरीको भनाइ छ।

‘जलेका नोट पनि फेला परेका छन्,’ उनले भने, ‘त्यो कोठामा पोर्चुगलमा जान लागेका एक जना युवा बस्ने गरेको खुलेको छ। ती युवकका कागजातहरू पनि जल्यो भन्ने छ, हामी हेर्दैछौं।’

आगलागी भने नियन्त्रणमा आइसकेको छ। प्रहरीले मुचुल्का उठाउने काम गरिरहेको छ। आगलागी भएपछि प्रहरी वृत्त बानेश्वर र अग्नी नियन्त्रकको टोली घटनास्थलमा पुगेका थिए। एसी सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ।

आगलागी भएपछि खाना पकाउने ग्यास सिलिण्डर पनि पड्किएको थियो। आगलागीबाट निवासमा क्षति पुगेको छ। मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ। आगो नियन्त्रणमा लिन पाँच वटा दमकल प्रयोग गरिएको थियो।