फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाए

२९ माघ, काठमाडौं । फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटेको हो ।

४ वाणिज्य बैंकहरु एभरेष्ट, लक्ष्मी सनराइज , माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिए पनि अरु १६ बैंकले घटाउँदा औसत निक्षेप ब्याजदर तल झरेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् ।

माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव १५ प्रतिशतसम्म थियो । फागुनमा भने सोही प्रकृतिको निक्षेपमा अधिकतम ब्याजदर नै ८.५० प्रतिशतमा झरेको छ, जुन ब्याजदर १० वर्षभन्दा माथि अवधिको लागि एनएमबीले प्रकाशन गरेको हो । व्यक्तिगत मुद्दती निक्षेपमा अब कुनै पनि बैंकले ८.५० प्रतिशतभन्दा धेरै ब्याज दिने छैनन् ।

बैंकहरुले गत साउनबाट निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज गरेसँगै विविधता देखिएको छ । बैंकहरुले आवश्यकता अनुसार ब्याजदर प्रकाशित गरेका हुन् । बढी अवधिको मुद्दति निक्षेपमा बढी र छोटो अवधिको मुद्दति निक्षेपमा कम ब्याजदर रहेको छ । व्यक्तिगत मुद्दतीमा दिएको अधिकतम ब्याजदरको २ प्रतिशत विन्दुभन्दा कम मात्रै संस्थागत ब्याजदर दिन सक्ने व्यवस्था छ । यसअनुरुप अब संस्थाहरुलाई बैंकले ६.५० प्रतिशतभन्दा धेरै ब्याजदर दिने छैनन् ।

बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घटाएपछि मात्रै बचत र कल निक्षेपको ब्याजदर घटाउन सक्छन् । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । यसले गर्दा बचतको ब्याजदर पनि घट्न जानेछ । कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ ।

राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदरमा उतारचढाव कम गर्न भन्दै ब्याजदर निर्धारण गर्ने आधारको रुपमा सोही वर्गको बैंकहहरुले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ । बैंकहरुले साउनदेखि भद्र सहमति खारेज गर्दै आफ्नो रणनीति अनुसार ब्याजदर प्रकाशित गर्दै आएका छन् ।

ब्याजदर घट्दै जाँदा निक्षेपकर्ताले मुद्दति निक्षेप नवीकण नगर्ने र केही समय बचतमा पैसा राख्दा बैंकहरूको मुद्दति निक्षेपको हिस्सा घटेर बचतको बढ्न लागेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी कर्जा चाहेजति जान नसकेको र अधिकतम तरलता भएकोले ब्याजदर घट्दो क्रमममा नै रहेको बताउँछन् । ‘तरलता प्रशस्त छ, कर्जा लगानी गर्ने ठाउँ देखिएको छैन,’ अध्यक्ष केसी भन्छन्, ‘निक्षेप बढीरहेको छ । यस्तोमा ब्यनाजदर घट्नै नै देखिन्छ ।’

ब्याजदर बढ्दो क्रममा हुँदा बचतभन्दा मुद्दति निक्षेपको ब्याजदर अन्तर धेरै हुन जान्छ । जसले गर्दा मुद्दति निक्षेपमा पैसा राख्ने क्रम बढ्ने गरेको बैंकर केसी बताउँछन् । अहिलेको मुद्दति निक्षेप पछिल्लो १० वर्षको औसत भन्दा धेरै लत रहेकोले यस्तो बेलामा मुद्दति निक्षेप नवीकरण गर्ने सम्भावना कम नै हुने उनी बताउँछन् । जसले गर्दा बचत निक्षेपको हिस्सा बढ्ने र मुद्दतिको घट्ने ट्रेन्ड देखिएको उनले बताए । बचतको हिस्सा बढ्दा बैंकहरुको लागत अझै कम भएर ब्याजदर थप घट्छ ।

फागुन महिनाका लागि बैंकहरूले ब्यक्तिगत मुद्दति निक्षेपमा तोकेको अधिकतम ब्याजदर सूची :

बैंक माघको ब्याज फागुनको ब्याज
कृषि विकास ७.२६ ६.४४३
एभरेष्ट
नेपाल ७.२५
लक्ष्मी सनराइज
माछापुच्छ्रे
एनआईसी एसिया ८.०६५
प्रभु ८.०६५ ७.५
स्टान्डर्ड चार्टर्ड ८.०७ ७.३५
राष्ट्रिय वाणिज्य ८.०७ ७.३५
नबिल ८.१ ७.७५
ग्लोबल आईएमई ८.१ ७.६
सिद्धार्थ ८.१
प्राइम कमर्सियल ८.१ ७.४
कुमारी ८.११ ८.०१
सानिमा ८.१५ ७.५१
हिमालयन ८.१५ ८.१५
नेपाल एसबीआई ८.२५ ८.१
नेपाल इन्भेष्टमेन्ट ८.६
एनएमबी ८.५
सिटिजन्स ९.१५ ८.२५