२७ माघ, बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले ५ वर्ष सरकारको नेतृत्व गर्न पाए देशमा धेरै परिवर्तन गर्नसक्ने बताएका छन् ।
शनिबार बुटवलमा आयोजित अन्तर्क्रियामा उनले संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताए ।
उनले अन्य दलहरुसँग एकपटक आफूलाई सरकारको नेतृत्व दिन आग्रह गरे ।
दलाल पुँजीवाद र साम्राज्यवादको हस्तक्षेपले मुलुकको राष्ट्रिय स्वाधीनता र अर्थतन्त्र परनिर्भर भएकाले देशलाई स्वाधीन र आत्मनिर्भर बनाउन नेपाली विशेषताको समाजवादमा सबै दल सहमत हुनुपर्ने उनले आग्रह गरे ।
‘सबैजसो दलहरुले कुनै न कुनै समाजवाद भनिरहेका छन् तर देशलाई निकास दिने नेपाली विशेषताको समाजवाद नै हो, यसमा कांग्रेस लगायत लोकतान्त्रिक शक्ति र वामपन्थी दलहरुबीच वहस गरौं’, चन्दले भने, ‘हाम्रो दुश्मन शक्ति भनेको दलाल पुँजीवाद र साम्राज्यवाद हो जसले नेपालको प्राकृतिक स्रोत, राष्ट्रिय पुँजी र सम्पदामाथि हमला गरिरहेको छ, अरु शक्तिसंग मिलेर जान तयार छौं ।’
अहिलेको व्यवस्थामा अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षा निकाय समेत भ्रष्टाचारमा डुबेको थुप्रै उदाहरण देखिएको र यसको कारण दलाल पुँजीवाद नै भएको चन्दको तर्क छ ।
माओवादीसहित सबैजसो दलका नेताहरु श्रम संस्कारबाट च्यूत भएको भन्दै विदेशमा पुगेर गर्ने जस्तो मेहनत र श्रम देशमै गरे मात्रै मुलुक बन्ने उनले बताए ।