चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड पुनः २१ दिन बन्द हुने भएको छ । पुलको फाउण्डेशन बनाउन २१ दिनको म्याद थप गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैठकले माघ २१ गतेदेखि २१ दिनसम्म सडक दैनिक ४ घण्टा बन्द गरेर भित्तो काट्ने कामलाई निरन्तरता दिने निर्णय गरेको आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी कृष्ण आचार्यले
बताए ।
हाल तुइन खोलामा पुलको जग हाल्न मुग्लिनतर्फको भित्तो काट्ने काम भैरहेको छ । त्यसका लागि दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द हुँदै आएको छ ।
यसअघि आयोजनाले पहिलोपटक गत पुस ७ गतेदेखि २८ गतेसम्म तीन हप्ताका लागि सडक बन्द गरेको थियो । यस्तै, दोस्रोपटक पुनः पुस २८ गतेदेखि माघ २० गतेसम्म दैनिक ४ घण्टा सडक बन्द गर्ने निर्णय गरिएको थियो । यसपटक २१ दिनभित्र भित्तो काटिसक्ने लक्ष्य राखिएको छ । सूचना अधिकारी आचार्यका अनुसार अब भित्तो काट्न १३ मिटरमात्र बाँकी छ ।
६० मिटर अग्लो पहरो काट्ने काम गत वर्षबाट सुरु गरिएको थियो । २५ मिटर तलसम्म काटिसकेपछि कडा चट्टान भेटिएको आयोजनाले जनाएको छ । मुग्लिनतर्फको भागमा कडा चट्टान भेटिएपछि विष्फोट गराएरमात्रै पहाड काट्न सकिने आयोजनाले निष्कर्ष निकालेको थियो ।
तर, खानी तथा टनेलमा काम गर्ने प्राविधिकको स्थलगत अध्ययनपछि विष्फोटको सट्टा फरक प्रविधिको प्रयोग गरेर चट्टान काट्न सुझाव दिइएको थियो । सोही आधारमा यसपटक रक स्प्लीटर, हाइड्रोलिक ज्याक हेम्बरको सहयोगमा चट्टान काट्ने काम गरिएको आयोजनाले जनाएको छ ।