Breaking News

व्यावसायी अरुण चौधरीलाई पक्राउ गरी हिरासतमा राख्दै मुद्दा चलाउने तयारी

१८ माघ, काठमाडौं । व्यावसायी अरुण चौधरीलाई पक्राउ गरी मुद्दा चलान गरिएको छ । चौधरीले बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी अरुण चौधरी र अजितमान सिंह थापाविरुद्ध कीर्ते र ठगी गरेर सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धान हुने भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट आज अनुमति लिँदैछ ।

सीआईबीका एक अधिकारीका अनुसार उनीहरुलाई चिरायु अस्पतालमा स्वास्थ्य परीक्षण गराएर अदालत लैजाने तयारी छ ।

महाराजगञ्जस्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हाल सिजी चाँदबाग रेसिडेन्सी नाममा छ र उक्त जग्गामा चाँदबाग स्कुल सञ्चालन भइरहेको छ ।

सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना भएको भन्दै काठमाडौं महानगरपालिकाको ३ नम्बर वडा कार्यालय, तत्कालिन वडाध्यक्ष र ४८ जना स्थानीय बासिन्दाले प्रहरीमा जाहेरी दिएका थिए ।

सरकारी जग्गा तत्कालिन राजाको निर्णयविना कसैको नाममा नामसारी नहुनेमा बाँसबारी छालाजुत्ता कारखाना समितिले निर्णय गरेर च्याम्पियन फुटवेयर लिमिटेडलाई बिक्री गरेको थियो । उक्त फुटवेयर हाल बन्द भइसकेको छ र त्यसको स्वामित्व हाल सिजी चाँदबाग रेसिडेन्सीसँग छ ।