१८ माघ, काठमाडौं । जुम्लाका आशिष शाही रोजगारीको खोजीमा तीन वर्षअघि बाँके झरे । नेपालगञ्ज बजारमा तीन वर्ष अटोरिक्सा चलाए । तर यतिले मात्र गुजारा चल्ने नदेखेपछि उनले विदेश जाने सोच बनाए ।
‘यहाँ अटो चलाएर मात्र गुजारा चल्ने देखिन, परिवारको खर्च धान्नुपर्ने भएपछि विदेश जानुपर्ने बाध्यता आइलाग्यो’, विदेश जान खोजेको कारणबारे आशिष भन्छन् । विदेश जाने बाटो खोजिरहेका बेला उनले भेटे कोहलपुरमा जिम सेन्ट्रर चलाइरहेका सुरज केसी ।
केसीले दुबईमा रोजगारीको अवसर रहेको सुनाए । क्लिनरको काममा पहिलो वर्ष मासिक ५० हजार, त्यसपछि ९० हजारसम्म कमाइ हुने लोभ देखाए । आशिष भन्छन्, ‘दुई चार वर्ष दुःख गरे जिन्दगी बन्छ भने किन न जाने भन्ने सोच बन्यो ।’
केसीले भिसा लगाउन पैसा चाहिने भन्दै सुरुमै डेढ लाख रुपैयाँ मागे । आशिषले आफूले चलाउँदै आएको अटोरिक्सा बेचे र दिदीको सुन धितोमा राखे । ‘जसो तसो ऋण काढेर डेढ लाख उसलाई बुझाएँ’ उनी भन्छन् ।
गत असोजमा पैसा बुझाएपछि सुरजले काठमाडौंका राजेन्द्र मर्हजनसँग चिनजान गराइदिएका थिए । सुरजले भने अनुसार मर्हजन नै विदेश पठाउने खास एजेन्ट थिए । छिट्टै पठाउने भनेका उनीहरुले पैसा पाएपछि झुलाउन थाले । गत मंसिरको अन्तिममा भने भिसा आएको भनेर काठमाडौं बोलाए ।
‘पुस ४ गतेको फ्लाइट छ, २ गते आउनू भनेर हामीलाई बोलाइयो’, आशिषले भने, ‘प्लेनको टिकट समेत काटिसकेको भनेपछि मसँगै ४ जना कोहलपुरबाट काठमाडौं आयौं ।’
राजेन्द्र र सुरजले उनीहरुलाई बसपार्कको होटलमा राखे । प्लेन टिकट र कम्पनीसँगको सम्झौतापत्र भनेर कागजात देखाए । अरबी भाषामा लेखेको लेटर प्याडमा कम्पनीको सम्झौता पत्र भनेर हस्ताक्षर गर्न लगाए ।
राजेन्द्र र सुरजले भनेको मिति ४ पुसमा उनीहरु दुबई जान पाएनन् । ‘१० दिन, १५ दिन भन्दै हामीलाई झुलाइरहे । कहिले टिकट मागियो भनेर कहिले आफ्नो आमा बिरामी भयो भनेर ढाँटिरहे’ आशिषले भने ।
भनेको दिन विदेश नपठाएका कारण यता बसपार्कको होटलमा बस्दाको उनीहरुको खर्च भने बढिरहेको थियो । एक्कासी राजेन्द्र र सुरज सम्पर्कविहीन भए । उनीहरुको मोवाइलमा फोन लाग्न छाड्यो । ‘हामीलाई होटल छोडेर उनीहरु सम्पर्कविहीन भए’, आशिषले भने, ‘हाम्रो यता बिचल्ली भयो ।’
पछि आशिषले थाहा पाए उनीहरुले श्रम स्वकृति नै लिएका रहेनछन् । कम्पनीसँगको सम्झौता पत्र भनेर देखाएक्को कागज नक्कली रहेछ । ‘हामीलाई फरक खालको भिसा हो, डकुमेन्ट हामी आफैं मिलाउछौं भनेर झुक्काए’, आशिषले भने, ‘पछि बुझ्दा त्यो सबै नक्कली नै रहेछ ।’
विदेश जान्छु भनेर घरबाट हिडेका आशिष र उनका अरु ४ जना साथीहरु बसपार्कको होटलमा बसिरहे । ‘विदेश जान भनेर हिँडेकाले घर फर्कने कुरा भएन । पैसा पनि फसिसकेको छ’, उनले भने, ‘विदेश नगए पनि फसेको पैसा माग्छौं भनेर
बसिरह्यौं ।’ तर होटलमा बसेको डेढ महिना भइसकेकाले ४ जना बसेको खर्च १ लाख २० हजार रुपैयाँ भइसकेको छ ।
होटल सञ्चालकले १४ माघदेखि बाहिर निस्कन दिएन । यता पासपोर्ट र पैसा लिएर भागेकाले दलाललाई जसरी पनि खोज्नु
थियो ।
‘दिदीको धितो राखेको सुन लिलामी हुने बेला भइसक्यो’, आशिषले भने, ‘होटलमा मैले तिर्नुपर्ने नै ३० हजार भइसकेको थियो । केही उपाय नलागेपछि मोबाइल नै बेचेँ । कमाउन हिँडेका हामी दलालले फसाउँदा उल्टो बिचल्लीमा प¥यौं ।’
आषिशसँगै ठगिने अर्का हुन्, बाँके कोहोपुरकै सुशील चापागाई । विदेश जान भनेर सुरज र राजेन्द्रलाई तीन लाख रुपैयाँ बुझाएका उनी पनि विचल्लीमा छन् । उनले पनि घरबाटै पैसा मगाएर होटलको खर्च तिरे ।
अहिले उनीहरु दुवै जना आफूलाई ठग्ने दलालको खोजीमा छन् । ‘घरमा बहिनीको बिहे गर्दाको ऋण थियो’, सुशीलले भने, ‘विदेश जान्छु भनेर मैले थप ऋण लिएर निस्किएको थिएँ । यहाँ आएर ऋणमाथि ऋण थपियो ।’ बिचल्लीमा परेका उनी अहिले आफू घर न घाट भएको बताउँछन् ।
अहिले काठमाडौंमा आशिष र सुशील आफूलाई बिच्ललीमा पारेका दलालाको खोज्न दिनरात दौडिरहेका छन् । उनीहरुले मंगलबार वैदेशिक रोजगार विभागमा सुरज र राजेन्द्रविरुद्ध उजुरी दिएका छन् । र दुवैको फोन अफ भएकाले उनीहरुसँग सम्पर्क हुन सकेको छैन । उनीहरुसँगै ठगीमा परेका अरु भने खर्च धान्न नसकेर गाउँ फर्किसके ।
आशिष र सुशील भने बसपार्ककै होटलमा बसिरहेका छन् । होटलमा खाना बस्दाको खर्च हरेक दिन बढेको बढ्यैछ । त्यसमाथि दलाल खोज्न यताउता दौडधुप गर्दाको खर्च छुट्टै छ । कहिलेकाहीँ भोकै पनि सुतेको सुशील सुनाउँछन् । तर जति नै दुख भोग्न परे पनि फसेको पैसा लिएर मात्र गाउँ फर्कने अडान उनीहरुको छ ।
‘ऋण काढेर विदेश जान हिँडेको मान्छे कसरी घर फर्किने रु’ सुशील भन्छन्, ‘जति दुःख झेले पनि यहीँ झेल्छौं भनेर बसेका
छौं ।’ तर यो हैरानी कहिलेसम्म झेल्नुपर्ने हो उनीहरुलाई थाहा छैन ।
अनलाइनखबरबाट