फराकिलो, चिल्लो, चिप्लिएर लडिएलाजस्तो सडकको बिचमा एउटा सालिक छ– शासकको सालिक । ऊ जिउँदो छँदा त्यो सडक उसैको बिर्ताजस्तो थियो । बन्दुकधारीहरूको लावालस्करबिच जब उसको सवारी चल्थ्यो, सडकका कणकण र वायुमण्डलका एकएक तरङ्ग भयले कम्पित हुन्थे । पुलिसका लाठा र सिपाहीका सङ्गीन, जासुसका आँखा र कन्सुत्लेका चुक्ली, पुरोहितका तोत्र र जिम्दारका तमसुकले दबाइएका, चुसिएका र अधमरो पारिएका जनहरू अचल, अवाक् मूर्तिसमान यो पेटीमा र ऊ पेटीमा लाम लागेर उभिन्थे । आफ्ना सुन्दर सपना बुटका किलामुनि दबाइँदा हुनुसम्म निरीह भएका थिए ती । तुलतोरण र ध्वजापताका, बाजागाजा र ठाँटबाँटबिच शासक जब सवारीमा निस्कन्थ्यो, शासितहरू विवश स्वरमा चिच्याउँथे– करुणानिदान प्रभुको जय होस् !
आफूले उघारेको माटो आफ्नो होस्, आफूले खनेको बाटो आफ्नो होस् । आफ्ना रगत–पसिना र पौरखको कमाइ आफ्नो होस्, आफ्नो भाग्यको लगाम आफ्नै हातमा होस् । पाखा–पखेरामा झैँ जीवनमा पनि कहिलेकाहीँ इन्द्रेनी लागोस्, भीर–पहरामाभैmँ जीवनको बगैँचामा पनि मौसममा फूल फुलोस् । दुःखीहरूका मनका टाक्सिएका भावना अरू दुःखीहरूले बुझे । बस्, नर्ककुण्डका अभागीहरू आफ्नो भाग्य आफैँ अजमाउने सुरले हुलचालको आँधी बोकेर उठे । तिनलाई थाहा थियो– एकबारको जुनी जिउने धर्तीलाई नर्कतुल्य बनाएको त्यै सालिकले हो । त्यसका क्रूर दलबलले, त्यसका चम्चे र चाकरहरूले, त्यसका लोेभी र अगस्ती आफन्तहरूले । नर्कका जाली कथा कथेर र स्वर्गका प्रलोभनकारी किस्सा रचेर रैतीलाई नर्कको जुनी भोग्न करकाप गरेको त्यै सालिकले हो । त्यसले र त्यसका आउरे–पाउरे र धुपौरेहरूले ।
०००
तीन वर्षपछि हरिमान ज्यापू खर्पनमा सागसब्जी बोकेर पेटीमा लुखुर्लुखुर हिँडिरहेछ । एकाएक उसका आँखा सालिकतिर उचालिन्छन् । त्यहाँ ऊ जे देख्छ, त्यो देखेर ऊ तीनछक
पर्छ । धुलोपिठो हुन नपाएको शासकको सालिक अँगालाभरिको फूलमाला लगाएर गजक्क पर्दै दरबारको गजुर हेरिरहेछ । दरबारको गजुर सालिकतिर हेर्दै मानौँ अथाह श्रद्धाले शिर झुकाइरहेछ । सालिकमुनि सिँगारिएको मण्डपमा अगरबत्तीको पातलो धुवाँ पत्पत् माथि उठिरहेछ । धुवाँ वरिपरि पण्डित र पुरोहितहरू भाका हालीहालीकन जपिरहेछन् वेदका तोत्रहरू । मण्डपमुन्तिर सडकमा बन्दुके जवानहरू सालिकलाई सलामी अर्पण गर्न जङ्गी मुद्रामा लामबद्ध छन् । मन्त्री र जर्नेल, चाकर र सुन्दरी, ताबेदार र चाप्लुसहरू आलोपालो गरी सालिकका पाउमा फूलगुच्छा चढाउँदै र मुन्टा दोबारेर जुम्लाहात गर्दै भक्तिभावका साथ ध्यानमग्न छन् ।
बुट बजारेर सिपाहीहरूले सालिकलाई सलामी अर्पण गरे– दुरुम् ! दुरुम् !
हरिमान ज्यापू झस्क्यो । हच्केका आँखा तिखारेर हेर्दा उसले देख्यो– सिपाहीका बुटका किलाले ठिक त्यही ठाउँ दाबेका छन्, जहाँ हुलचालमा बलिदानी वीरहरूको पवित्र रगत बगेको थियो । उसलाई लाग्यो, बुटका किलाहरू मानौँ सडक होइन उसको छाती टेकिरहेछन् । त्यो भर्खरको बुट ठोकाइको भयङ्कर आवाज सडकबाट होइन मानौँ उसकै आहत अन्तरबाट निस्केको हो । हरिमानको ब्रह्माण्ड फनफनी घुम्यो । लुलिएका खुट्टाले ज्यान थाम्न नसकी ऊ पेटीको एक कुनामा थुचुक्क बस्यो ।
‘यो के गरेको ?’ हरिमानले आफ्नो छेवैबाट उतातिर जान लागेको सफाचट् सज्जनलाई सोध्यो ।
‘यो ?’ शासकको सालिकतिर सगर्व शिर उठाउँदै सफाचट्ले भन्यो, ‘यो शहीदलाई श्रद्धाञ्जली चढाएको ।’
‘शहीद भन्यौ ?’ हरिमानको मथिङ्गल चक्करायो । ‘त्यो अपराधी शहीद ?’ उसले क्रोधका लप्का भरिएका नजरले सालिकलाई पुलुक्क हेर्यो । अनि हत्तपत्त उठेर ऐँठनको क्षणमा झैँ बरबराउँदै ऊ बाटो लाग्यो– ‘जसले चुसीचुसीकन, कुल्चीकुल्चीकन अनगिन्ती जनको ज्यान लियो, त्यो शहीद ? जसले न्यायको झन्डा उचालेर ज्यान आहुति दियो, त्यो चाहिँ के नि ?’
०००
मध्यरात चकमन्न छ । र, धकलाग्दो छ सुनसान सडकको विशालता । अँगालोभरिको माला लगाएको शासकको सालिक दरबारको गजुर हेरेर निर्जन सडकमाथि एकछत्र राज गरिरहेछ । दरबारको गजुर केही निहुरिएर मानौँ षड्यन्त्रको रहस्यमय भाषामा सालिकलाई यसो केही भनिरहेछ । पदचापको आवाजले सडकको सन्नाटालाई चिर्दै हरिमान सुस्तरी सालिकतिर बढ्यो । ऊजस्तै अरू एकाध झुत्रेझाम्रे जनले उसका पाइला पछ्याए । हरिमान कुनै अदृश्य शक्तिले गोडाको चाल अँठ्याएझैँ टक्क अडियो । उसले गर्धन तन्काएर सालिक हेर्यो । उसको अन्तर्मनका आँखामा अतीतको रोमाञ्चक दृश्य ताजा, एकदम जिउँदो भएर उठ्यो– हेर ! हेर ! सालिकका गालामा झापट पड्कियोे, छातीमा लात्ती जम्यो, तालुमा मुक्का बज्रियो । अनि एकाएक गोलाबारीको सहस्र वर्षा र वीरहरूको बलिदान ! हरिमानले मैलो बाहुलोले आँसु पुछ्यो र एक कुनामा श्रद्धाको सागर र अर्को कुनामा आक्रोशको आँधीबेरी छछल्किरहेका नजर उसले सालिकको मालातिर फाल्यो ।
हरिमान ठिक त्यही ठाउँमा निहुरियो, जहाँको अलकत्र वीरहरूको रगतले भिजेको थियो । त्यो चिल्लो भुइँ उसले सनक्क पुछ्यो अनि मैलो रुमाललाई प्रेमले मुसार्यो । उसका सहयात्रीहरूले पनि सोहीपरी गरे । त्यहाँ जो जो मारिएका थिए, ती रगतको नाताले वा लेनदेन कारोबारले हरिमानका कोही थिएनन् । आन्दोलनको एक अङ्ग हरिमान थियो र आन्दोलनका अरू अङ्ग ती वीरहरू थिए । ती त्यसरी ढल्दा अङ्ग–प्रत्यङ्ग लाछिएझैँ ऊ भाउन्न भएको थियो । हरिमानले उही मैलो रुमालले आँसु पुछ्यो र आँसुले भिजेको रुमालले त्यो चिल्लो भुइँ मुसार्यो, जहाँ वीर–वीराङ्गनाहरूको वध गरिएको थियो । उसले आफ्नो न्यानो खोकिलोबाट श्रद्धाको फूल झिक्यो । फूल भन्नु नै आखिर के थियो र ? एकाध धुसुरेका पात, अलिकता दूबो, थोरै अबीर र एक अञ्जुली आँसु ।
हरिमान र उसका सहयात्री अलिबेर चुपचाप शिर निहुराएर खाली भुइँमा बसे । अनि हल्का पाइलाले सन्नाटालाई चिर्दै पर पेटीमा पुगेर ती उभिए । हरिमानको अन्तर्मनका आँखामा अर्को प्रलयकारी दृश्य भुमरी भएर उठ्यो । ऊ हेर्दै छ, वीर–वीराङ्गनाहरू शासकको सालिक तोड्न तँछाड–मछाड गर्दै तम्सिँदा छन् । घन उठ्यो र सालिकका थाप्लामा बज्रियो । छिनो बत्तियो र सालिकका गर्दनमा धसियो । साबेलको पासो हुत्तिएर झर्यो र सालिकको छाती चुरचुर भयो । हेर्दाहेर्दै हरिमानका आँखैमुखेन्जी सालिक जगैसम्म सतचूर्ण भयो । अनि ? अनि अचम्मको चमत्कार भयो । जहाँको अलकत्रा वीर–वीराङ्गनाहरूको बलिदानी रगतले भिजेको थियो, ठिक त्यही ठाउँको धर्ती चिरा पर्यो । र चिराभित्रबाट वीर–वीराङ्गनाहरूका प्रतिमा सग्लासग्लै, सिङ्गासिङ्गै माथि उठे । माथि, अझ माथि, झन्झन् माथि । वरिपारिको समस्त परिवेश प्रकाशपुञ्जले उज्यालियो । जनमारा शासकका सालिकको भग्नावशेषमाथि पलभरमै यसरी वीर–वीराङ्गनाहरूका प्रतिमा खडा भए । सहस्र जनको कुँडुलोका उल्लासमय गलाबाट जाज्ज्वल्यमान् प्रकाशपुञ्ज बोकेर गगनभेदी स्वर वायुमण्डलमा गुन्जियो– शहीदगाथा अमर रहोस् !
उल्लास र उमङ्गले ओतप्रोत भएको अर्को चैत २४ गते !
रातोपाटीबाट