नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कुशको मात्र राजा रहेको टिप्पणी गरेका छन्।
‘ज्ञानेन्द्र शाह भनेको राजा होइन। बाहुनले बाहुन भनेर एउटा टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै यी कुशका राजा हुन्,’ ओलीले आज काठमाडौंमा पत्रकारहरूसँगको कुराकानीमा भने, अब यस्ता कुरामा के बहस गरिरहने बेकार।’
दरबार हत्याकाण्डबारे त्यसैबेला छानबिन गरिएको उनले बताए।
‘त्यसबेला पनि छानबिन गरिएको हो। तर राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति यस्तो रह्यो त्यसबेलाका हाम्रा महासचिव माधवकुमार नेपाल उहाँ आफैं छानबिन समितिमा बस्नुभएको थियो, यो ड्रामामा सामेल नहोऊ भनेर हामीले फिर्ता गर्यौं,’ ओलीले भने।
दरबार हत्याकाण्ड राजनीतिक दलहरूले नगरेको उनले बताए।
‘नेपालीहरूले विवेक गुमाउनु हुन्न। विचरा दीपेन्द्र, दीपेन्द्रले आफैं मरेर मरिसकेपछि हान्यो,’ ओलीले प्रश्न गरे, ‘एउटा राजा हुन लागेको मानिस त्यसरी मर्छ ? अनि उसले अगाडि र पछाडीबाट गोली हान्छ ? चार राइफल र एउटा पेस्तोल एकै जनाले बोकेर कुद्छ ? यस्तो कुरा पनि पत्याएर हिँड्ने ?’
२०५८ जेठ १९ मा तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जना सदस्यको हत्या भएको थियो।
दरबार हत्याकाण्ड एउटा भयानक षड्यन्त्र रहेको पनि ओलीले बताए।
‘राजाको जेठो छोरो राजा हुन्छ। तर जेठो त के कान्छो र छोरी नै मारिइसकेपछि राजतन्त्र समाप्त भयो,’ उनले भने, ‘त्यतिबेलाको सरकारको कमजोरी हो, अलि समय राजतन्त्र भनेर ज्ञानेन्द्र शाहलाई सजाउने काम भयो।’