त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न ४३ जनाको आवेदन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न ४३ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखाका अनुसार ४३ जनाको आवेदन परेको हो । त्रिविको उपकुलपतिका लागि आवेदन दिन तँछाडमछाड देखिएको छ ।

त्यसरी आवेदन दिनेहरूमा त्रिविमै नयाँ नियुक्ति नहुँदासम्मका लागि उपकुलपतिको जिम्मेवारी पाएका प्राडा शिवलाल भुसाल, मध्यपश्चिम विश्वविद्यालयका बहालवाला उपकुलपति प्राडा नन्दबहादुर सिंह लगायतका रहेका छन् । २०७६ सालमा नियुक्ति भएका सिंहको कार्यकाल आउँदो फागुन १८ गते सकिँदै छ ।

त्यस्तै त्रिविकै पूर्व उपकुलपति प्राडा तीर्थ खनिया, खुला विश्वविद्यालयका पूर्व उपकुलपति लेखनाथ शर्मा, राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष प्राडा चन्द्रमणि पौडेल, त्रिविका पूर्व डीन गुणनिधि न्यौपाने, टंक धमला, महानन्द चालिसे, भोजराज अर्याल, प्रकाश घिमिरे, केदार घिमिरे, कृष्णराज तिवारी लगायतले आवेदन दिएका छन् ।

त्रिविको इतिहासमा पहिलो पटक खुला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्त हुन लागेको हो । यसका लागि शिक्षामन्त्री तथा त्रिविका सहकुलपति अशोक कुमार राईको अध्यक्षतामा तीन सदस्यीय उपकुलपति सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन आह्वान गर्दै २३ पुसमा सूचना जारी गरेको थियो । यसअघि पुस २० मा जारी भएको सूचनामा विरोध भएको थियो ।
विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको ब्यहोरा खुलाउनुपर्ने समेत मापदण्ड तोकिएपछि विरोध भएको थियो । त्यसपछि कुलपति प्रचण्डले उक्त प्रावधान हटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि समितिले दोस्रो पटक १५ दिने सूचना जारी गरेको थियो । जुन सूचनाको म्याद सोमबार सकिएको छ ।
कार्यविधि र मापदण्ड 

उपकुलपति नियुक्तिका लागि कार्यविधि बनेको छ । उक्त कार्यविधि अनुसार नै विभिन्न मापदण्ड तोकिएका छन् । जसअनुसार उपकुलपतिका लागि कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको हुनुपर्नेछ । यस्तै दरखास्त दिनु तत्काल अघि कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने विषय पनि कार्यविधिमा उल्लेख छ ।

त्यस्तै उपकुलपतिका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने, प्रचलित कानुन बमोजिम स्थापित विश्वविद्यालयको प्राध्यापक पदमा नियुक्त भई सो पदको अनुभव हासिल गरेको हुनुपर्ने मापदण्ड छ । यस्तै प्रचलित कानुन बमोजिम सार्वजनिक पदमा नियुक्तिको लागि अयोग्य नरहेको हुनुपर्ने त्रिविसँग कुनै स्वार्थ नबाझिएको हुनुपर्ने र  नेपाली नागरिक हुनुपर्ने मापदण्ड छ ।

सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नभएको र हाल कुनै राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा पत्र, त्रिविसँग कुनै स्वार्थ नबाझिएको ब्यहोरा खुलेको स्वःघोषणा पत्र समेत समावेश गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

उम्मेदवारले पेश गरेको शैक्षिक योग्यता तथा अनुभव, पुस्तकको प्रकाशन, विश्वविद्यालयसम्बन्धी सोचपत्र (भिजन पेपर), त्रिविको चार वर्षे व्यावसायिक कार्ययोजना (प्रोफेसन वर्क प्लान), सोको प्रस्तुतीकरण तथा अन्तर्वार्ता बापतको मूल्याङ्कन र अंकभार १०० पूर्णाङ्कलाई आधार मानेर त्रिविको नयाँ उपकुलपति छनोट गरिनेछ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको पदावधि गत कात्तिक १६ गते सकिएको थियो । उनको कार्यकाल सकिएपछि त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले १७ कात्तिकमा भुसाललाई बढीमा तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए । त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम सो पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनाका लागि कुलपतिले उपकुलपतिको जिम्मेवारी तोक्ने व्यवस्था छ ।