त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा मध्यपश्चिम विश्वविद्यालयका बहालवाला उपकुलपति प्राडा नन्दबहादुर सिंहले आवेदन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा मध्यपश्चिम विश्वविद्यालयका बहालवाला उपकुलपति प्राडा नन्दबहादुर सिंहले समेत आवेदन दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा पुगेर उनले सोमबार आवेदन दिएका हुन् ।

मध्यपश्चिम विश्वविद्यालयमा विवाद उत्पन्न भइरहेको बेला सिंहले त्रिविको उपकुलपति पदका लागि आवेदन दिएका हुन् । मध्यपश्चिम विश्वविद्यालयमा विगत लामो समयदेखि तालाबन्दी छ ।

मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति भएर आएपछि नै विश्वविद्यालयको अवस्था अशान्त छ । यतिबेला प्राध्यापक संघ–संगठन तथा विद्यार्थी संगठनहरुले विश्वविद्यालयको केन्द्रीय परिसरमा ताला लगाउँदा तीन महिनादेखि विश्वविद्यालय बन्धकजस्तै बनेको छ । असोज १२ गतेदेखि उपकुलपति सिंहले निवासबाट नै विश्वविद्यालय चलाइरहेका छन् ।

सिंहले आफूमाथि राजनीतिक घेराबन्दी भइरहेको, कसैले साथ नदिए पनि आफू सही बाटोमा हिँडिरहेको दाबी गर्दै आएका छन् । तर सम्बन्धन अन्तर्गत सञ्चालनमै नआएका कार्यक्रमहरू चोर बाटोबाट थप गर्न लागेको, आफूखुसी २५ जना पीएचडी होल्डरलाई नियुक्ति दिएको, प्रधानमन्त्रीको कार्यालयको अवज्ञा गर्दै बिना विज्ञापन कर्मचारी नियुक्ति गरेको, विश्वविद्यालयको आफ्नै संरचना प्रशस्त हुँदाहुँदै एक जना डीनको घरमा एउटा फ्याकल्टीको कार्यालय राखेको लगायतका विषयको विरोधमा प्राध्यापक तथा विद्यार्थी संघ संगठनहरुले तालाबन्दी गर्दै आएका हुन् । आफ्नो विश्वविद्यालयको तालाबन्दी खोल्न नसकेर चर्को आलोचना खेपिरहेका सिंहले त्रिविको उपकुलपतिका लागि समेत आवेदन दिएपछि तरंग उत्पन्न भएको छ ।

त्रिविको उपकुलपति पदमा आवेदन दिनका लागि सोमबार म्याद सकिएकाे छ भने ४३  जनाले आवेदन दिएका छन् ।