Breaking News

हाकिमविरूद्ध बोलौं जागिरको डर, नबोलौं घाँटी-घाँटीसम्म भइसक्यो !

यहाँ जति पनि घटना र पात्रहरूको बारेमा उल्लेख गर्न खोजिएको छ, तपाईं हामीले देखेका, भोगेका र अव्यक्त रूपमा हरदिन महसुस गरिएकै विषय हुन्।

व्यक्तिगत रूपमा कोहीप्रति लक्षित र पूर्वाग्राही भएर लेखिएको छैन। धेरैजना साथीभाइको गुनासो र उनीहरूले भोगेका विषय संकलन गरेर खराब प्रवृत्तिको बारेमा उजागर गर्न मात्रै खोजिएको हो।

यी घटना कोही कसैको जीवनसँग मेल खाएमा संयोग मात्रै हुनेछ र आफू सोही कर्ममा संलग्न हुनुभएको छ भने कृपया आफैंलाई सम्झेर ममः भन्दै आत्मसमीक्षा गरेर आगामी दिनमा सुध्रिने कोसिस गर्नुहोला। केवल आदर्शको खोल ओडेर देखाइने कथित पहुँचवालाहरूको खराब प्रवृत्तिको मात्रै उजागर गर्न खोजिएको हो।

घटना १:

प्राय:जसो सरकारी कार्यालयहरूमा हरेक कुराको मापदण्ड बनाइएको हुन्छ। कुन तह वा कुन पदका कर्मचारीले कुन सुविधा कसरी उपयोग गर्ने? कति सुविधा पाउने? कहिले कहिले पाउने? यी विभिन्न विषयहरूको वैधानिक रूपमै व्यवस्था गरिएको हुन्छ। तर कतिपय अवस्थामा यी व्यवस्था कागजमा सीमित हुन्छन् र ठूलाबडाको व्यक्तिगत तजबिजका आधारमा नियम बनाइन्छन् र भरपुर उपयोग गरिन्छ।

पदीय हिसाबले तल्लो स्तरको कर्मचारी भए पनि राजनीतिक रूपमा पहुँच छ, कार्यालयको ट्रेड युनियनमा राम्रै प्रभाव छ भने जागिरे पदले केही प्रभाव पार्दैन। ठूलाबडा हाकिम साबहरू पनि यस्ता शक्तिशाली प्रवृत्तिमूलक पात्रहरूका अगाडि नतमस्तक भइदिन्छन्। प्रचलित ऐन, कानून, पदीय जिम्मेवारीले त्यस्ता प्रवृत्तिका कर्मचारीले ती सुविधा पाउन योग्य हुँदैनन् तर पहुँच र पावरका सामु कसैको केही लाग्दैन।

एक जना शाखा अधिकृत साथीले सुनाएका थिए, ‘पावरका सामु कसको के लाग्छ र? निजामती सेवा ऐनमा व्यवस्था छैन भनेर कसले भन्छ? पावरवाला भएपछि कसैले केही गर्न सक्छ? ‘म शाखा अधिकृत हुँ तर मलाई बाइक दिनुस्’ भनेर भन्न हिम्मत छैन किनकि म सवारी साधन पाउने पदीय जिम्मेवारीमा पुगिसकेको छैन तर सचिवालयमा काम गर्ने करारका कर्मचारीहरू सरकारी नम्बर प्लेटका सवारी साधनमा हुइँकिएर सान देखाउँछन्।

कतिपय अवस्थामा त तिनै करारका कर्मचारीले हाम्रो सरूवा समेत गराइदिन्छन्। लोक सेवा पढेर, त्यस्तो कठिन परीक्षा पार गरेर, एक पटक होइन पटक पटक खारिएर यहाँसम्म आइपुगेको सान, मान र इज्जत पहुँच र पावरवालाको सामु निरिह भएको देख्दा आफैंलाई धिक्कार लाग्छ। हामीहरू आफ्नो च्यानलमार्फत् सम्बन्ध स्थापित गर्छौ, म अधिकृत हुँ, मेरो पहिलो सम्पर्क उपसचिवसम्म हुन्छ, त्योभन्दा माथि जानुपर्‍यो भने सहसचिव र अन्त्यमा सचिव ज्यूको कार्यकक्षसम्म पुग्ने हो तर पहुँच र पावरवालाहरूको फूर्ति हेर्नुपर्छ, मानौं मन्त्रालय, विभाग उनीहरूले नै चलाएका हुन जस्तो भान पार्छन्। नयाँ आउने सेवाग्राहीहरू त उनीहरूलाई नै सचिव मान्छन् कि जस्तो पार्छन्।

मान्छेलाई आफ्नो पदभन्दा बढी अहम् किन देखाउनुपर्छ? ऊ कुन पदको हो? उसको जिम्मेवारी कति हो? उसले केके कामसम्म गर्न सक्छ? उसले के कति सुविधा पाउँछ? कति पाउनुपर्ने हो? त्यो थाहा छ, सबै भुक्तानी गर्ने ठाउँमा आफू कार्यरत हुँदा पनि सर्वत्र ब्रह्मलुट भएको देख्दा दिक्क लाग्छ’ ती साथीको थप गुनासो थियो।

पोहोरसाल समाचार आएको थियो, सचिवकी प्रेमिकाले एउटा विभागको महानिर्देशक (सहचिव) को सरूवा गराइदिइन् भनेर, यी साथीको गुनासोले यस्ता समाचारलाई झनै बलियो बनाएको आभास भयो।

यो रोग एउटा कार्यालयको मात्रै होइन, एकाधबाहेक सबै सरकारी कार्यालयहरूमा पहुँच र पावरवालाहरूको एकछत्र बोलवाला देखिँदै आएको छ। कानून एकातिर तजबिजी अधिकारको प्रयोग अर्कातिर भइरहेको छ, यो तथ्यलाई जतिसुकै लुकाउने कोसिस गरे पनि लुकाउन सकिँदैन।

घटना २:

एउटा सरकारी अड्डाका हाकिम साब आफ्नो  परिवारका सदस्य सरकारी गाडीमै  लिएर जाडो बिदा मनाउन  जान्छन्। कार्यालयको फिल्ड भिजिटको लागि भन्दै लगिएको गाडी हाकिम साबको ससुरालीमा पुगेपछि बिग्रन्छ। केही दिन त्यो गाडी ससुराली आसपासकै मर्मत केन्द्रमा रहन्छ। त्यहाँ बन्ने छाँटकाँट देखिँदैन। काठमाडौंको साविकको स्थान जहाँ कार्यालयका सवारी साधनको मर्मत सम्भार नियमित रूपमा गराइन्थ्यो, अन्तत उक्त गाडी पनि सोही मर्मत केन्द्रमा आउँछ।  मर्मत गराउनेवालाले गाडीको फूल सर्भिसिङ गराउने, पार्टपुर्जा फेर्नुपर्ने उर्दी दिन्छन्। चालकले सोही अनुसारको व्यहोरा हाकिम साब समक्ष जाहेर गर्छन्। हाकिम साबले कार्यालय प्रयोजनमा लिएर गएको गाडी बिग्रँदा आनाकानी गर्ने कुरा भएन, सिधै स्वीकृति दिन्छन्। अन्तत: विभिन्न चरण पार गरेर उक्त गाडी मर्मत हुन्छ।

सबै चरण पार गरेपछि अन्तिम भुक्तानीको लागि लेखा प्रमुखको टेवलमा कागजात सहितको विवरण पुग्छ। लेखा प्रमुखलाई खपिनसक्नु रिस उठ्छ। रिस उठेर गर्ने के? जागिर खान्छु भनेर आएपछि जागिर खाने हो अरू के गर्ने र? एकदिन तिनै लेखा प्रमुखसँग भलाकुसारी गर्ने संयोग मिल्यो। भेटघाट छोटो भए पनि यति धेरै कुरा जान्ने मौका मिल्यो। कति हदसम्म गर्छन् पहुँचवालाहरू भन्ने ठूलो सबक मिल्यो।

माथि उल्लेख गरिएको भूमिका एक पटकको होइन, यस्ता सयौं उदाहरणहरू छन्, देखिन्छन तर बोल्ने को? बोलेर के हुन्छ र बोल्ने? किन बोल्ने? आखिर जागिर त सबैलाई टिकाउनु परेको छ होइन र? ती लेखा प्रमुखले बाध्यता सुनाए।

‘म लेखा प्रमुख हुँ, कागजात मिलेर आएपछि भुक्तानी गर्नुपर्ने दायित्व बोकेको छु, योभन्दा बढी सोधिखोजी गर्ने अधिकार मलाई छैन। यस्ता फर्जी कागजातको भुक्तानी गर्नुपर्दा कन्सिरीका रौं तात्छन् तर के गर्नु? एकपटक हो र बारम्बार यस्ता घटना हुन्छन, एक जनाबाट होइन, जिम्मेवार पदाधिकारीबाट। अगुवा नै यस्तो भए पनि नैतिकता, सदाचारका कुरा अरूबाट कसरी आश गर्ने?

हाकिम अफिसको काममा गएका हुँदै होइनन् त्यो कुरा मलाई मात्रै होइन, अफिसका सबै स्टाफलाई थाहा छ। हाकिमले छोराछोरीको स्कुलमा जाडो बिदा भएपछि उनीहरूलाई घुमाउन लगेर गएका हुन्। हाकिमले आफ्ना परिवारका सदस्यलाई सरकारी गाडीमा, सरकारी तेलमा, सरकारी चालक साथमै राखेर लगेका हुन् त्यो कुरा पनि थाहा छ तर भएर के हुन्छ? हाकिमको अगाडि यो किन भयो? कसरी भयो? सोध्ने हिम्मत कसको छ? चाकडीमा चल्ने प्रशासन भएपछि हामी जस्ता दुई चार जना युवापुस्ताले फूर्ति लगाउँदैमा के हुन्छ र? म लाचार भएर चेकमा साइन गर्नुपर्छ। भित्रभित्रै विद्रोहका ज्वारभाटा चल्छ नि चलेर के गर्नु? आफैं दमकल बन्छु र निभाउने प्रयत्न गर्छु। म एकजना उफ्रेर के हुन्छ ? ठूला कुरा गर्ने भन्दै कार्यालयमा म एक्लो हुन्छु। सबै खान पल्किएकाहरू एक हुन्छन् आफु एक्लो बृहस्पती। एक्लै कराएर हुने भए त प्रेम सन्जेल जति को कराएको होला र? खै त प्रेम सन्जेल एक जना इमानदार भएर निजामती प्रशासन सुध्रियो त? तैँ चुप, मैँ चुप बलराम भो भो नबोलोम्….. यही अवस्था छ।

बोलौं भने आफ्नै जागिरको सवाल छ, भोलि कहाँ पठाउँछन् सरूवा गराएर। अरू केही निहुँ पाएनन् भने कार्य सम्पादन मूल्यांकनमा कम नम्बर राखिदिएर वृत्तिविकासको द्वार नै बन्द गर्दिन बेर लाउँदैनन्। नबोलौँ भने पनि घाँटीघाँटीसम्म भइसक्यो, वाक्क दिक्क भइसक्यो। यी बेथिति एउटा कार्यालयको मात्रै सवालको विषय होइनन्, सिंगो सरकारी क्षेत्र यो महारोगबाट ग्रसित छ भन्दा फरक पर्दैन।

घटना ३:

सरकारी कार्यालयको एक जना हाकिमको छोराको ब्रतबन्धको कार्यक्रम थियो।

‘हाकिमको चालक भएको नाताले हाकिमको गाडी चलाउनु मेरो ड्युटी थियो नै तर त्यो दिन यति चर्को पेलान भयो कि भोलिपल्टदेखि हाकिमको अनुहार पनि हेर्दा दिक्क लाग्ने अवस्था आयो,’ चालकको गुनासो हो यो।

‘हाकिमका जति नजिकका आफन्त छन् सबैलाई सरकारी गाडीमै घरसम्म पुर्‍याउनुपर्ने, पार्टी प्यालेससम्म ल्याउनुपर्ने, त्यो मात्रै हो र? रक्सीका कार्टुन ओसारपसार गरिरहनुपर्ने। राति रक्सीले टिल्ल भएका आफन्तहरूलाई मापसे चेकबाट जोगाइदिनुपर्ने, कतिसम्म लुट्न सक्ने हुन्? अधिकार पाएँ भन्दैमा अत्याचार पनि कति गर्न सकेका? भनौं भने आफ्नै हाकिम नभनौं भने ब्रह्मलुटको पनि हद पार गर्छन् कुनै बेलामा।

कुनैकुनै बेलामा त दिक्क लागेर कुनै मिडियाले गाडीको फोटो खिचे पनि हुन्थ्यो भन्ने लागेर बीच बाटोमा गाडी रोकेर राख्छु,, अहँ आजसम्म कसैले पत्तो पाउन सकेका छैनन्।

हप्तामा एकदिन जसो रातिमा पार्टी भोज परेकै हुन्छ, हाकिम साबलाई उज्यालोमा हमेसा घर पुर्‍याउन पाइँदैन। हाकिमको मात्रै होइन हाकिम साबका परिवारको ड्युटी  झनै कडा हुन्छ। हाकिमलाई अफिस पुर्‍यायो अनि घरका बडा हाकिमको ड्युटी गर्नुपर्छ। दिनभरी गाडी कहाँकहाँ कुद्छ कसरी कुद्छ भन्ने कुरा कसलाई भन्ने? छोराको ड्युटी एउटा स्कुलमा, छोरीको अर्को स्कुलमा, म्याडम र उनका आफन्तको अर्को स्थानमा साँझ अफिसमा हाकिम साबलाई लिन पुग्यो।

हाकिमको सुविधाको लागि अफिस आऊजाऊ गर्न पो सरकारले गाडी दिएको हो त उनका परिवारकै लागि त गाडी दिएको होइन होला नि? अझ हाकिम साबका ससुराली तिरकाहरूको पो ड्युटी कडा हुन्छ। यो टाइममा फलानो ठाउँमा तुरून्त आइहाल भन्ने उर्दी उताबाट पहिले आउँछ, आफैंले दाइजोमा दिएको गाडी जस्तो पो गर्छन्। मैले मेरा छोराछोरी दुई तीन हजार तिरेर स्कुलको गाडीमा आउजाउ गराउन सक्छु भने मेरा हाकिमका छोराछोरी बिहानै सरकारी गाडी, बेलुकै सरकारी गाडी नै चाहिने? यो मात्रै हो र? हाकिमको घर बनाउने बेलामा घरका सामान ओसार्न समेत अफिसकै गाडी लगियो। कतिसम्म सकेको सरकारी सम्पत्ति दोहन गर्न? यो सब थाहा पाएर के गर्ने हो र? हाकिमले फलानो ठाउँमा जा भनेको बेलामा हस सर भन्नैपर्छ, नुनको सोझो गर्नैपर्‍यो। यो रोग एउटा कार्यालयको मात्रै होइन एकाध बाहेकका अधिकांश सरकारी कार्यालयको साझा दीर्घरोग हो।

घटना ४:

एक जना कार्यालय सहयोगीले साह्रै आपत परेपछि हाकिम साबलाई बिन्ती गरेछन्, ‘सर मेरी श्रीमती बिरामी परिछन्, तुरून्त ट्याक्सी पनि पाइएन, घरमा कोही छैन। तुरून्त अस्पताल लानुपर्‍यो, डेलिभरी हुने बेला भएको सर, एकैछिन हजुरको गाडीमा जान सक्छु?’

ती कर्मचारीको मुखमा यसो हाकिमले हेरेछन, एकैछिन केही बोलेनन रे, ‘ओहो तपाईंले भनिहाल्नु भयो, इमर्जेन्सीमा गाडी त दिन हुन्थ्यो तर मलाई तत्काल मन्त्रालयमा मिटिङमा जानुपर्ने छ, केही व्यवस्था गर्नुस् है’ ती कर्मचारी रूनु न हाँस्नुको अनुहार लाएर हाकिमको कोठाबाट बाहिर निस्केछन्।

आधा घण्टासम्म ट्याक्सी खोजे, बस कुरे कुनै पाइएन, एक जना बाइकवालासँग लिफ्ट मागेर हतारहतार घरतिर जाँदै थिए। बाटोमा लामो जाम देखियो, बाइकवालाले तपाईंको समस्याले गर्दा भित्री बाटो जाऊँ अलि छिटो हुन्छ भनेर अर्को बाटोबाट बाइक मोडे।

‘अलि पर पुगेपछि एउटा सरकारी नम्बर प्लेटको गाडीमा नजर पुग्यो, यसो घोरिएर हेरेको आफ्नै अफिसको गाडी रहेछ त्यसमा हाकिमका आफन्तहरू झकिझकाउ भएर बिहे पार्टीमा हिँडेका रहेछन्। त्यो बेलामा अहिलेको जस्तो स्मार्ट फोन हुन्थ्यो भने जागिर गए जान्थ्यो म फोटो खिचेर सार्वजनिक गर्थे होला तर आफूसँग त्यो सुविधा थिएन। श्रीमतीको तनावले हतारहतार घरमा पुगेँ, प्रसव पीडामा छट्पटाएकी श्रीमतीलाई बेलैमा अस्पताल पुर्‍याउन सकेँ। अपरिचित मोटरसाइकलवाला मेरो लागि भगवान बने तर वर्षौंदेखि सेवा गरेका आफ्ना हाकिम आपत परेको बेलामा मेरा लागि कोही भएनन्, म त मेरा हाकिम मेरा लागि सर्वस्व हुन भन्थेँ तर म गलत रहेछु।

हाकिमका परिवारलाई पार्टी प्यालेसमा लैजान उपलब्ध हुने सरकारी गाडी त्यही कार्यालयको तल्लो तहको कर्मचारीले अन्तिम अवस्थामा माग गर्दा पनि एकैछिनको लागि उपलब्ध हुन सकेन। हाकिमका सात पुस्ता चढ्न हुने गाडी हामी जस्ता निम्न स्तरका कर्मचारीले जीवन मरणको सवालमा पनि उपयोग गर्न नसक्ने? ती हाकिम साब अहिले रिटायर्ड भए, अहिले कुन अफिसका गाडी चढ्छन् कुन्नी?

माथिल्लो तहमा सरकारी सम्पत्तिको दोहन त छ नै, हाकिमका आसेपासेको झनै चर्को शोषण छ। कोही बोल्न हुँदैन, सबै कुरा थाहा पाएर पनि मौन बस्नुपर्छ। हाकिमका मान्छे, नेताका मान्छे, मन्त्रीका मान्छे, माथिल्ला आदेशवालाका मान्छे भएपछि सर्वशक्तिशाली, बोल्न, कुनै टिप्पणी गर्न पाइँदैन।

भर्खर सरूवा भएर कर्मचारी गएका हुन्छन्, हाकिमलाई चित्त बुझे पनि आदेशवालालाई चित्त बुझेन भने तुरून्त सरूवा हुन्छ वा कारबाहीमा पारिन्छ।

सबैलाई रिझाउने कला छ भने जति सरकार फेरिऊन्, जति हाकिम फेरिऊन् ती कर्मचारीलाई कसैले चलाउन सक्दैन।

सरूवा भएर, रमाना भइसक्दा पनि थमौती भएका उदाहरणहरू प्रशस्तै छन्। किन यस्तो हुन्छ? यो विषयमा को बोल्ने? किन बोल्ने? बोलेर के हुन्छ र बोल्ने? भन्न पो भा छैन कसलाई थाहा छैन भने जस्तै हो। अझ नेता कर्मचारी हुनुपर्छ, काम गर्नै पर्दैन, गफ लगाएको भरमा जागिर पाक्छ। कहीँ दुर्गममा सरूवा भएर जान पर्दैन, रोजेका ठाउँमा जागिर खान पाइन्छ। सुविधा पाउने सम्मका सबै पाइन्छ।

सेतोपाटीबाट

लेखक : यमुना अर्याल (काफ्ले)