अधिकृतको ३८ बर्षे सेवा काल अवधिमा ८ करोड ७७ लाख कमाई, अख्तियारद्धार मुद्दा दायर

८ जेठ, काठमाडौं । तत्तकालीन टोखा नगरपालिकाका कार्यकारी अधिकृत ऋषिराम अर्यालले दान र सापटी नै ४ करोड दिएको हिसाब देखाएका छन् ।

२०३९ सालमा गाविस सचिव हुँदै सरकारी सेवामा प्रवेश गरेका उनी २०७६ सालमा शाखा अधिकृतबाट अवकाश पाएका व्यक्ति हुन् । यो ३८ वर्षे सेवाकालको वैध आम्दानी जोड्दा उनको कमाइ आठ करोड ७७ लाख २७ हजार रूपैयाँ हुन्छ ।

तर उनको नाममा २६ करोड ६० लाख ६९ हजार रूपैयाँ अख्तियारले फेला पारेको छ । उनको नामको कुल सम्पत्तिबाट वैध आय घटाएपछि बाँकी रहेको १७ करोड ८३ लाख ४१ हजार रूपैयाँ उनले भ्रष्टाचार गरेर कमाएको अख्तियारको आरोप छ ।

उनले छोराछोरीको विवाहमा २८ लाख र उनीहरूको अध्ययनमा २० लाख ३२ हजार खर्च गरेको देखिन्छ ।

घर तथा जग्गा खरिदमा उनले ५ करोड ४४ लाख, शेयर खरिदमा ९ करोड १३ लाख, न्यु लिङ्क कापी उद्योग र एलडी इन्टर प्राइजेज फर्ममा ४ करोड ४२ हजार लगानी गरेको अख्तियारले जनाएको छ ।

सुन खरिदमा ४ लाख १० हजार खर्च गरेका उनले दान र सरसापटी व्यहारमा ४ करोड ५० लाख ३३ हजार खर्च गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

उनलाई २ वर्षसम्म कैद र विगो बमोजिमको जरिवाना हुनुपर्ने माग गर्दै अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा चलाएको छ ।