कोरोना संक्रमितको संख्या ५० हजार नाघ्दा मर्नेको संख्या ३ लाख ३० हजार पुग्नै लायो

८ जेठ, काठमाडौं । कोरोना भाइरसले विश्वभर संक्रमितको संख्या ५० लाख ८८ हजार ८८३ पुगेका छन् ।

संक्रमित संख्या यो समाचार लेख्दा सम्मको हो ।

रोयटर्समा प्रकाशित समाचारका अनुसार विश्वमा दैनिक कोरोना संक्रमणमा वृद्धि देखिएको छ ।

यसले भाइरस संक्रमण नयाँ चरणमा पुगेको देखाएको छ । फरवरीमा चीनमा धेरै देखिएको भाइरसले त्यसपछि क्रमशः युरोप र अमेरिकामा महामारीको रूपधारण गरेको थियो ।

हाल यो अवस्था ल्याटिन अमेरिकी देशमा सुरू भएको छ ।

यो साताको सुरूमा रिपोर्ट भएका ९१ हजार केसहरूमा एक तिहाई केस ल्याटिन अमेरिकी देशहरूमा देखिनुले महामारीले नयाँ इपिसेन्टर बनाउने देखाएको छ । यो संक्रमित संख्यामा युरोप र अमेरिकाको हिस्सा भने २० प्रतिशत भन्दा केही बढीमात्र छ ।

ल्याटिन अमेरिकी देशमध्ये सबैभन्दा बढी केस ब्राजिलबाट छन् । संक्रमित संख्यामा उसले हालैमात्र जर्मनी, फ्रान्स र बेलायतलाई उछिनेको छ । हाल ब्राजिल अमेरिका र रसियापछि धेरै कोरोना संक्रमित भएको तेश्रो देश हो ।

कोरोनाका पहिलो ४१ वटा केसहरू जनवरीको १० मा चीनको वुहानमा पुष्टि भएका थिए । त्यसपछि अप्रिल १ मा यो संख्या १० लाख पुगेको थियो । त्यसपछि प्रत्येक दुई सातामा १० लाख नयाँ संक्रमित थपिएको रोयटर्सले जनाएको छ ।

कोरोना संक्रमणले ६ महिनाको अवधिमा गरेको असर गम्भीर फ्लुले एकवर्षको अवधिमा गर्ने असर भन्दा बढी भइसकेको छ। वार्षिकरुपमा ३० देखि ५० लाख मानिसहरू गम्भीर प्रकृतिको फ्लूबाट प्रभावित हुने गरेको अनुमान विश्व स्वास्थ्य संगठनको छ।

कोरोना महामारीका कारण हालसम्म ३ लाख २९ हजार ७६८ मानिसको ज्यान गइसकेको छ ।