Breaking News

पढाइ- २ कक्षा, कमाइ- करोडौँ, काम- धर्मको नाममा अपराध !

काठमाडौं । अनुयायीलाई हत्या, बलात्कार र बेपत्ता बनाएको आरोप आफूलाई ‘लिटिल बुद्ध’ भन्ने  रामबहादुर बम्जन अन्ततः पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई मंगलबार साँझ काठमाडौंको गात्तिगौंडास्थित घरबाट पक्राउ गरेको हो । सीआईबीले उनलाई आज (बुधबार) पत्रकार सम्मेलन गरी सार्वजनिक समेत गरिसकेको छ । सार्वजनिक गरेपछि बम्जनलाई सर्लाही पठाइएको छ ।

उनीविरुद्ध जिल्ला अदालत सर्लाहीमा मुद्दा दर्ता भएको छ । त्यसैले उनलाई त्यहाँ उपस्थित गराउन सर्लाही लगिएको हो । जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरी बम्जनमाथि अनुसन्धान अगाडि बढाउने प्रहरीले जनाएको छ ।

बमजन विरुद्ध चारजना पुरुष र महिला बेपत्ता बनाएको आरोपमा तीन जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता छ । बारामा सुरेश आलेमगर, मकवानपुरमा सन्चलाल वाइबा र फुलमाया रुम्बा र नुवाकोटमा चुल्मा र कर्मा भनेर बोलाइने चिनिमायाँ तामाङलाई बेपत्ता बनाएको उनीमाथि आरोप लागेको छ ।

कसरी आए चर्चामा ?
२ जेठ २०६२ देखि उनले शुरु गरेको निराहार तपस्या ६ वर्षपछि २०६८, २ जेठमा सकिएपछि उनी चर्चामा आएका थिए । त्यसबेला उनी १६ वर्षका थिए ।

बाराको जंगलमा उनी तपस्या गर्दै गरेको सार्वजनिक भएपछि उनलाई ‘लिटिल बुद्ध’ को उपनाम दिइएको थियो । तर यो तथ्य नै मिथ्या भएको भन्दै त्यसबेला नै उनी विवादमा आएका थिए । उनी पोखराको एउटा चामल मिलमा काम गर्दा घाइते भएपछि घरमै बसेको तथ्य बाहिर आएको थियो ।

वि.स. २०४६ सालमा जन्मिएका बम्जनले दुई कक्षासम्म स्थानीय विद्यालयमा पढेका थिए । त्यसपछि उनी लामा ज्ञान प्राप्तिका लागि भारतको देहरादुनको एक गुम्बामा गए । दुई वर्ष देहरादुनमा पढेर छुट्टिमा घर आएका बम्जन त्यसपछि गुम्बामा फर्किएर गएनन् ।

बाराको हल्खोरिया जङ्गलमा तपस्या सुरु गरेपछि सुरुमा उनलाई स्थानीयवासी हेर्न गए । त्यसपछिका अन्य देशका तीर्थयात्री पनि उनलाई हेर्न आउने गरेका थिए । सुरुसुरुमा बम्जनका अनुयायीहरूले उनी ऐतिहासिक बुद्ध, गौतम बुद्धका अवतार हुन् भनी विश्वास गरेका थिए ।

वि.सं २०६२ फागुन २७ का दिन उनी एकाएक हराए । वि.सं २०६४ को साउनमा काठमाडौंबाट करिब १६० किलोमिटर दक्षिणमा रहेको हलोरी जङ्गलमा अनुयायीहरूको एक विशाल भीडलाई सम्बोधन गर्ने क्रममा उनी पुनः देखा परे ।

वि.सं २०६६ सालमा बम्जनमाथि १७ जना गाउँलेको समूहमाथि आक्रमण गर्ने प्रयास ग¥यो । त्यसबेला बम्जनले आफ्नो ध्यानमा बाधा पुर्‍याएकाे दावी गरेका थिए ।

वि.सं २०७५ सालमा बम्जनमाथि १८ वर्षीया अनुयायीलाई दुई वर्षसम्म पटकपटक बलात्कार गरेको आरोप लाग्यो । बम्जनका समर्थकहरूले भने अनुयायी चोरीमा संलग्न भएको र उनलाई गुम्बाबाट निकालिएको दावी गरेका थिए ।

बारम्बार भागे
वि.सं २०७६ सालमा बम्जनका विभिन्न आश्रमबाट चार जना अनुयायी हराएको खुल्यो । त्यसपछि उनको आश्रममा प्रहरीले छापा मारेपनि उनी भेटिएनन् ।

वि.सं २०७६ माघ २३ गते सर्लाही जिल्ला अदालतले बम्जनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसको अर्को दिन सिन्धुली प्रहरीले सर्लाही प्रहरीको अनुरोधमा उनको आश्रममा छापा मार्याे ।

त्यसबेला प्रहरी महानिरीक्षकको सचिवालयबाट सूचना चुहिएपछि बमजन भाग्न सफल भए । त्यसको चार महिनापछि प्रहरीको दोस्रो निशाना समेत ‘मिस फायर’ भयो । बम्जन २०७७ सार ४ गते पनि उम्किन सफल भए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सिन्धुपाल्चोक आश्रमबाट फुलमाया रुम्बा पासाङलाई बेपत्ता पारेको भन्दै उनका भाइ विजय रुम्बाले निवेदन दिएका छन् । यस्तै नुवाकोट प्रहरीमा परेको निवेदनमा घर आएकी फुलमाया सिन्धुली आश्रम जान्छु भनेर हिँडेको उल्लेख छ ।

नुवाकोट मेघान गाउँपलिकाकी चिनिमायाँ तामाङ २०६९ सालमा घर आएका थिए । चुन्मा र कर्मा भनेर बोलाइने उनी तपस्वी बमजनको आश्रममा आनी थिए । नुवाकोट प्रहरीमा दिदी गंगामायाले बहिनी खोजिदिन निवेदन दिएका छन् ।

यी दुईसँगै मकवानपुरका सञ्चलना वाइबा र बाराका सुरेश आलेमगर बम्जनकै आश्रमबाट हराएकोले खोजीदिन प्रहरीमा निवेदन परेका छन् ।

उनी, सात वर्षसम्म सर्वसाधारण र परिवारका सदस्यलाई बन्धक बनाई कुटपिट गरेको अर्को विवादमा तपस्वी बमजन मुछिएका थिए । त्यसपछि विदेशी नागरिकलाई बन्धक बनाएको, वन क्षेत्रका विषयमा विवाद गरेको र बलात्कार तथा हत्या गरेकोसम्म उनीमाथि आरोप लागेका छ ।

यौन हिंसा, हत्या र मानिसहरू बेपत्ता पारेका लगायतका विभिन्न आरोपमा बम्जनलाई प्रहरीले चार वर्षदेखि खोजी गर्दै आएको थियो । अन्ततः उनी मंगलबार काठमाडौंको गात्तिगौंडास्थित निवासबाट पक्राउ परेका छन् ।

कसरी कमाए करोडौँ ?
प्रहरीले बम्जनको घरबाट ठूलो परिमाणमा नगद बरामद गरेको छ । सीआईबीले पत्रकार सम्मेलन गर्दै हात्तीगौंडा स्थित बम्जनको घरबाट ३ करोड ३ लाख भन्दा बढी नगद बरामद गरेको जानकारी दिएको छ ।

त्यस्तै अमेरिका, चीन र इन्डोनेसियालगायत १७ मुलुकका केही मुद्रा पनि बरामद गरेको छ । अमेरिकी डलर १७ लाख ९७ हजार १६४ रुपैयाँ, भारतीय रुपैयाँ १ लाख ७६ हजार र चिनिँया युआन ५ लाख भन्दा बढीको रहेको छ ।

यसैगरी अष्ट्रेलियन डलर, युरो, क्यानेडियन डलर, डेनिस कर्नर, इन्डोसियन रुपैयाँ, मलेसियन रिंगेट, कोलम्बियन पेसो, इजरायली न्यू सकेकल, थाई भाट, यूएई दिराम, साउदी अरबियन रकम, भुटानी र सिंगापुरको पैसा पनि भेटिएका छन् ।

त्यसैगरी मोबाइल १४ थान, पेनड्राइभ २० थान, आइप्याड ५ थान, मोटरसाइकल ४ र गाडी २ वटा पनि बरामद गरेको सीआइबीले जनाएको छ ।

ल्याण्ड क्रुजर गाडी किन्ने तयारी
सीआईबीको अनुसार बम्जनले धुम्बाराहीस्थित एक शोरूमबाट ५ करोडको ल्याण्ड क्रुजर गाडी खरिद गर्दै थिए । उक्त गाडी बौद्ध श्रवण धर्म संघ ललितपुरको अध्यक्ष पनित महर्जनको नाममा लिँदै थिए । त्यसका लागि उनले तीन करोड बुझाइसकेका थिए ।

बमजनले चढ्ने टोयोटा फच्र्युनर गाडी, क्रस फायर मोटरसाइकल, ३९० सिसीको केटिएम ड्युक, यमहा रे जेडआर स्कुटर पनि प्रहरीले बरामद गरेको छ ।

दृष्टिबाट