कोल्टी एरर्पोटमा हेलिकप्टर र जहाज कुर्दाकुर्दै हुम्लाकी नवप्रसूति २३ वर्षीया अन्शु बुढाको छट्पटाउँदै मृत्यु

हेलिकप्टर कुर्दाकुर्दै हुम्ला ताँजाकोट–५ की नवप्रसूति २३ वर्षीया अन्शु बुढाको मृत्यु भएको छ।

अन्शुको सोमबार राति बाजुराको कोल्टीस्थित स्वास्थ्य केन्द्रमा मृत्यु भएको उनका दाजु कर्णबहादुर बुढाले जानकारी दिए।

कर्णबहादुरका अनुसार अन्शुले १३ दिनअघि, पुस १२ गते पालिकाकै मदना स्वास्थ्य चौकीमा छोरीलाई जन्म दिएकी थिइन्। प्रसूति अवस्थाबाट उनी तंग्रिँदै थिइन्।

‘१२ दिनसम्म उनको अवस्था ठीकठाकै थियो। परिवारले पनि राम्रो हेरचाह गरेको थियो। सोमबार बिहान उनको स्वास्थ्यावस्था अचानक बिग्रियो,’ मृतकका दाजु कर्णबहादुरले सेतोपाटीसँग भने।

अन्शुलाई सोमबार बिहान अचानक गाह्रो भएर छिटोछिटो सास फेर्न थालेको कर्णबहादुरले बताए।

‘हिजो बिहान नुवाइधुवाइ गर्छु भनेर पधेँरामा गएकी रहिछन्। नुहाएर फर्किएपछि सासूलाई टाउको दुख्यो, रिँगटा लाग्यो भनेकी रहिछन्,’ कर्णले भने, ‘रक्तस्राव भएर पनि त्यस्तो भएको हुनसक्छ। आमाले तातो बनाएर पनि खान दिनुभएछ।’

पेटमा तातो परेपछि अन्शुलाई झन् गाह्रो भएको कर्णले बताए। त्यसपछि उनको स्वास फुल्न थालेको र हतारहतार गाडी खोज्नतिर लागेको कर्णले बताए। त्यसो त उनलाई गाउँकै स्वास्थ्य केन्द्रमा पनि देखाइएको थियो। त्यहाँका स्वास्थ्यकर्मीले अन्यत्र लैजान सुझाए।

अन्शुको घर सदरमुकामबाट ४६ कोस टाढा पर्छ। दुर्गम ठाउँमा भनेको बेला गाडी पनि नपाएको कर्णले बताए।

‘बल्लबल्ल गाडी भेट्टाएर कोल्टी लिएर गयौं। त्यहाँबाट हेलिकप्टर, जहाज जे भेटिन्छ त्यसैमा उपचार गर्न लैजाने सोचेका थियौं,’ उनले भने।

ताँजाकोटबाट बाजुराको कोल्टी पुर्‍याउन तीन घन्टाभन्दा बढी समय लागेको कर्णले सुनाए।

‘भर्खर खोलेको ट्र्याकमा धेरै कठिनले उनलाई कोल्टी पुर्‍यायौं। गाउँमा एम्बुलेन्स थिएन। गाडीमा अक्सिजनको व्यवस्था हुने कुरा भएन,’ उनले दुखेसो पोखे।

कोल्टी पुर्‍याएपछि पनि उपचार हुन नसकेको उनले बताए।

‘कोल्टीको स्वास्थ्य केन्द्रमा पनि अक्सिजन रहेनछ! उनलाई त्यहीँ केन्द्रमा राखेर परिवार हेलिकप्टर, जहाज कुर्न थालेछन्। सबैतिर खबर भयो। सिफारिस, चिट्ठी पनि बनायौं। तर, हेलिकप्टर, जहाज आएन,’ उनले भने।

हेलिकप्टर, जहाज आउने छाँट नदेखिएपछि एम्बुलेन्सबाट थप उपचारका लागि जिल्ला अस्पताल मार्तडी लैजाने तयारी गरेको र तर सुत्केरीलाई निकै गाह्रो भइसकेको उनले बताए।

‘त्यहाँ गाउँपालिकाको एम्बुलेन्स पनि तयारी हालतमा नै रहेछ तर त्यसमा पनि अक्सिजन रहेनछ। मार्तडीस्थित जिल्ला अस्पताल लैजाने अवस्था भएन,’ उनले भने, ‘छटपटाउँदा छटपाउँदै बहिनीको ज्यान गयो।’

अन्शुको सोमबार राति दस बजे मृत्यु भएको र अहिले घर ल्याएर दाहसंस्कार गरिएको उनले बताए।

‘आमाको ज्यान त गयो, १३ दिने शिशुलाई कसरी बचाउने पिर छ! दुर्गम क्षेत्र भएकाले यस्तो विपत्ती आइलाग्यो, हामी त निकै पीडामा छौं। ज्वाइँ झन् सम्हालिनै सक्नुभएको छैन,’ कर्णले भने।

वडाध्यक्ष मंगल नेपालीले पनि भौगोलिक विषमताले १३ दिने सुत्केरीले ज्यान गुमाउनुपरेको बताए।

‘सबैतिर बाटो पुगेको छैन। बाटो पुगे पनि यातायातका साधन चल्न मुस्किल छ। सुत्केरी र गम्भीर अवस्थामा पुगिसकेकी उनलाई समयमै स्वास्थ्य संस्थामा पुर्‍याउन सकिएन। दुःखद् घटना भयो,’ उनले भने।

तीन वर्षे वनस्पती विज्ञान पढेकी उनको गत वर्ष मात्रै विवाह भएको थियो।

सेतोपाटीबाट