Breaking News

चक्रवर्ती कलेजका संचालक बाबुछोराबीच झडप हुँदा बाबु देवेन्द्र भण्डारी घाइते

काठमाडौंको बिजुलीबजारमा रहेको चक्रवर्ती कलेजमा झडप हुँदा अध्यक्ष देवेन्द्र भण्डारी घाइते भएका छन्।

सोमबार बेलुकी करिब ११ बजे ‘चक्रवर्ती हबी एडुकेसन कलेज अफ ल’ मा दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ। झडपको क्रममा प्रहरीले २४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए।

यसमा सबै जनाको संलग्नता छ/छैन भन्नेबारे प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको छ। बुवा देवेन्द्र र उनका छोरा निरजबीच सम्पत्तिको विवादको क्रममा झडप भएको हो।

झडप हुँदा देवेन्द्रको टाउकोमा चोट लागेको छ। उनको नर्भिक अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ। निरजसहित केही व्यक्तिहरू भने सामान्य घाइते छन्।

कलेजमा बुवा-छोरा दुवै अध्यक्ष रहेको दाबी गर्ने गरेका छन्। लामो समयदेखि दुई जनाबीच विवाद हुँदै आएको थियो। सोमबार दिउँसो देवेन्द्रलाई निरज सहितको टोलीले कलेजमा पस्न नदिएको प्रहरीले बताएको छ। यसरी प्रवेश नदिएपछि बेलुकी ११ बजे देवेन्द्र कलेजमा टोलीसहित पुगेका थिए।

‘राति कलेज पछाडिबाट छिरेका रहेछन्, छिरेर ढुंगामुढा, तोडफोड गरे। त्यसपछि झडप भएको हो,’ प्रहरी स्रोतले भन्यो, ‘भाटा, ढुंगाहरू हिर्काएको छ। तीन-चार जना घाइते भएका छन्।’

कम्पनी रजिष्ट्रारको कार्यालयले बुवा र छोराबीच कलेजको सेयर आधा-आधा ट्रान्स्फर गरिदिएको पनि उनले बताए। कार्यालयले छोरा निरजलाई पनि शेयर दिएपछि उनी पनि कलेजमा पुग्ने गर्थे। तर बुवाले भने कलेजमा पस्न नदिने गरेको प्रहरी स्रोतले बताएको छ।

पछि निरजले साधारण सभा गरेर अध्यक्षसमेत बनेको खुलेको हो। प्रहरीका अनुसार त्यसपछि उनले कर्मचारीहरू र प्रशासन नै आफ्नो टिमलाई राखेर कलेज चलाएपछि झडपको स्थिति बनेको हो। प्रहरी वृत्त बानेश्वरले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।