नक्सा सार्वजनिक हुनुमा प्रस्ताव पार्टी कै हो अरु कसैले देवत्वकरण नगरे हुन्छ

बामदेव गौतम – नेकपा, उपाध्यक्ष

७ जेठ, काठमाडौं । नेकपा उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेब गौतमले सरकारले लिम्पियाधुरासहितको नक्सा पार्टी निर्णय अनुसार पारित गरेको बताएका छन् ।

उपाध्यक्ष गौतमले आज बुधबार एक प्रेस नोट सार्वजनिक गर्दै पार्टी निर्णय अनुसार भएको कामलाई लिएर निश्चित व्यक्तिको देवत्वकरण नगर्न समेत उनले आग्रह गरेका छन् ।

’अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ’, गौतमले भने,’तर, यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ ।

सोमबार सरकारले लिम्पियाधुरासम्म भुभाग समेटेर नेपालको नक्सा पारित गरेको थियो।

उपाध्यक्ष गौतमले ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले देशको नयाँ नक्सा सार्वजनिक गरेको समेत बताएका छन् ।

सँगै गौतमले नक्सा सार्वजनिक गर्ने विषयलाई सशक्त रुपमा उठाउने आफू भएको समेत दाबी गरेका छन् ।

’नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा मैले सुरूदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको सबैमा स्मरण गराउन चाहन्छु । ’यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको वैठकमा मैले नै राखेको यहाँहरु सबैमा जानकारी गराउँछु भनेका छन् ।

वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि यो काम स्वागतयोग्य भएको उनले बताएका छन्।

’सिमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको छ। हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ।’

गौतमले जारी गरेको प्रेस नोट पत्रकार विश्वमणि सुवेदीले आफ्नो फेसबुकमा सार्वजनिक गरेका हुन्।