१८ पुस, काठमाडौं । इजरायलले गरेको ड्रोन आक्रमणमा परी हमासका एक जना शीर्ष नेता मारिएको लेबनान र प्यालेस्टिनी सुरक्षा स्रोतले दाबी गरेका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायलको आक्रमणबाट हमासका एकजना कमाण्डर सालेह अल-अरुरी मारिएको भनेर लेबनान र प्यालेस्टिनी सुरक्षा स्रोतले दाबी गरेका हुन् ।
हमासले भने एल-अक्सा रेडियोमार्फत अरुरीको हत्या भएको पुष्टि गरेको छ । हमासका पोलिट ब्युरो सदस्य इज्जत अल-शार्कले यसलाई ‘कायरतापूर्ण हत्या’ भनेका छन् ।
उनी हमासको सैन्य विङ्ग र कासिम ब्रिगेडको संस्थापकमध्येका एक हुन् । यही कासिम ब्रिगेडले गत ७ अक्टुबरमा इजरायलमा भीषण आक्रमण गरेको थियो । त्यसै दिनदेखि इजरायलले हमासलाई समाप्त पार्ने भन्दै सैन्य कारबाही जारी राखेको छ ।