Breaking News

नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने

१८ पुस, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को पहिलो महाधिवेशन यही पुस २६ गतेदेखि कैलालीको टीकापुरमा हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमार्फत् महाधिवेशनको उदघाटन गराउने र राजनीतिक दलका शीर्ष नेताहरुसँगै भारतीय जनता पार्टी (भाजपा)का नेतालाई समेत सहभागी गराउने नाउपाको तयारी छ ।

बुधबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नाउपाका संरक्षक रेशम चौधरीले यही पुस २६, २७ र २८ गते टीकापुरमा पार्टीको प्रथम महाधिवेशन हुन लागेको जानकारी दिए ।

महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै पार्टीका शीर्ष नेताहरुलाई निमन्त्रणा गरिएको संरक्षक चौधरीले बताए ।

उनकाअनुसार महाधिवेशनको उद्घाटन सत्रमा भारतीय जनता पार्टी (भाजपा)को प्रतिनिधिको समेत सहभागिता रहनेछ । महाधिवेशनको उदघाटन भने प्रधानमन्त्री प्रचण्डले गर्ने चौधरीको भनाइ छ ।

महाधिवेशनमा देशका ५२ जिल्लाबाट ८ हजार प्रतिनिधिहरु सहभागी हुने छन् । ती प्रतिनिधिहरुले ३९ जना पदाधिकारी र २४१ जना केन्द्रीय सदस्य चयन गर्ने चौधरीले बताए ।