सिक्किम प्रहरीले पक्राउ गरेकी खोटाङकी युट्युबर उमा चाम्लिङ राईलाई रिहा गरिएको छ।
सिक्किम क्रोनिकल्स अखबारका अनुसार उमालाई अनुसन्धानको घेरामा राखेर नेपाल फिर्ता गरिएको हो।
उनलाई नेपाल फिर्ता गरिएको छ। तर उनीमाथि लागेको आरोप अनुसन्धानकै क्रममा छ। सूचना जारी भएपछि उनी अदालतमा हाजिर हुन आउनुपर्नेछ,ु सिक्किम क्रोनिकल्सले सिक्किम प्रहरीलाई उद्धृत गर्दै लेखेको छ।
भारतीय समाचार एजेन्सी पिटिआईका अनुसार साम्प्रदायिक अशान्ति फैलाएको आरोपमा सिक्किमको सदर थाना प्रहरी चौकीको प्रहरीले शनिबार उमालाई पक्राउ गरेको थियो।
उनीविरूद्ध सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकी सदस्य शिला राईले प्रहरीमा उजुरी दिएकी थिइन्।
सन् २०२४ मा हुने विधान सभा चुनाव नजिकिँदै गर्दा उमाले सिक्किमवासीबीच साम्प्रदायिक अशान्ति फैलाएको आरोप छ।
उमाले केही दिनअघि सिक्किममा रहेका राई समुदायहरू आफ्नो अधिकारका लागि एकजुट हुनुपर्ने भन्दै भिडिओ हालेको पिटिआईले समाचारमा उल्लेख गरेको छ।
उमाले सिक्किममा प्रवेश गर्दा लिनुपर्ने इनर लाइन परमिट पनि नलिएको आरोप छ।