काठमाडौं । हेटौँडामा देशका सातै प्रदेशका मुख्यमन्त्रीहरू भेला हुने भएका छन् ।
प्रदेश र स्थानीय सरकारको अधिकार बाँडफाँडमा देखिएका उल्झन, संविधान कार्यान्वयन देखिएका चुनौतीबारे छलफल गर्न उनीहरू हेटौँडामा भेला हुने भएका हुन् ।
तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी संगोष्ठी आयोजना गरेको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका अनुसार सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागितामा संगोष्ठीमा तीनै तहका सरकारको साझा अधिकारको विस्तृतीकरण र कानुन निर्माण प्रक्रिया, आर्थिक विकास क्षेत्र, सेवा क्षेत्र, पूर्वाधार क्षेत्र र वन वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुत हुनेछ ।
बिहीबार र शुक्रबार हुने कार्यक्रममा सातै प्रदेशका प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, गाउँपालिका राष्ट्रिय महासंघ, नगरपालिका संघका पदाधिकारीको सहभागिता हुने बताइएको छ ।
मुख्यमन्त्री कार्यालयका अनुसार छलफलपछि भोलि (शुक्रबार) साझा प्रतिवेदनसमेत अनुमोदन गर्ने कार्यक्रम तय गरिएको
छ ।