काठमाडौं । साविक विजेता काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर सिटी नेपाल सुपर लिगको क्वालिफायरमा पुगेको छ ।
आज (मंगलबार) साँझ दाशरथ रंगशालामा भएको खेलमा काठमाडौंलाई ३-० गोल अन्तरले पराजित गर्दै ललितपुर क्वालिफायरमा पुगेको हो । ललितपुरलाई सहज जित दिलाउनको लागि इमोह इजेकेलले दुई गोल गरे भने पापा इबोउले एक गोल थपे ।
खेलको ३६औँ मिनेटमा इमोहले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । इबोउ केबेले हानेको प्रहार काठमाडौंका गोलकिपर अन्जल महर्जनले पूर्ण रुपमा क्लियर गर्न नसक्दा रिबाउण्डमा उनले गोल गरेका थिए ।
खेलको ४४औँ मिनेटमा इबोउ केबेल गोल गर्दा ललितपुरको अग्रता दोब्बर बनाए । यस्तै खेलको ५२औँ मिनेटमा इमोहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल ललितपुरले जित्यो ।
फाइनल प्रवेशको लागि अब ललितपुरले पोखरा थान्डर्ससँग बिहीबार खेल्ने छ । लिग चरणमा शीर्ष स्थानमा रहेको पोखरा पहिलो क्वालिफायरमा धनगढीसँग ट्राइबेकरमा पराजित भएको थियो ।
बिहीबारको खेलको विजेताले उपाधिका लागि शनिबार धनगढी एफसीसँग खेल्ने छ ।