Breaking News

त्रिवि उपकुलपतिका लागि पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको समेत नाम चर्चामा

काठमाडौं । नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) दुई महिनादेखि उपकुलपतिविहीन
छ ।

उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको कार्यकाल गत कात्तिक १६ गते सकिएको थियो । त्रिवि उपकुलपतिविहीन भएपछि कात्तिक १९ गते कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाललाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिएका छन् ।

अहिले नयाँ उपकुलपति चयन प्रक्रियामा छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा उपकुलपति नाम सिफारिस गर्न सर्च कमिटी बनेको छ । सर्च कमिटीले सिफारिस गरेको व्यक्तिलाई प्रधानमन्त्रीले उपकुलपति बनाउने छन् ।

अहिलेसम्म सम्भावित उम्मेदवारको नाम खुल्न नसकेको भएपनि आगामी उपकुलपतिको नेतृत्व कसले गर्ने भन्नेमा धेरै अड्कलबाजी र जिज्ञासा भने व्याप्त छ । उपकुलपति बन्न कांग्रेस, माओवादी केन्द्रनिकट केही प्राध्यापकहरूले लबिङ थालेका छन् । तर, यसपटक उपकुलपतिमा कुलपति तथा प्रधानमन्त्री ‘प्रचण्ड’ले बोल्ड निर्णय लिने बताइएको छ । उपकुलपतिका लागि पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको समेत नाम चर्चामा आउन थालेको छ । उच्चस्तरीय राजनीतिक सहमति गरेर त्रिवि सुधारका लागि भट्टराईलाई पठाउनुपर्ने तर्क राजनीतिकवृत्तमा उठ्न थालेको छ ।

त्रिविमा विद्यार्थी सङ्ख्या क्रमशः घट्दो छ । विद्यार्थी उच्च शिक्षाका लागि विदेश जानेक्रम र त्रिविको गुणस्तर तथा सुशासनका सवालमा समयमा-समयमा उठ्ने प्रश्नले पनि विद्यार्थीको सङ्ख्या घटाएको मानिएको छ ।

एक अध्ययनले त्रिविको स्तर पनि खस्किएको देखाएको छ । सन् २०२३ मा टाइम्स हाइएर एजुकेशन स्तर मापन अनुसार त्रिवि विश्वस्तरमा ८०१ देखि १००० को बीचमा रहेकोमा आउँदो वर्ष २०२४ को लागि भने स्तर मापनमा १२०१ देखि १५०० बीचमा देखाएको छ ।

त्रिविमा विद्यार्थी संख्या अत्यन्तै कम हुँदै गएको र विश्वस्तर खस्किएकोले प्रधानमन्त्री प्रचण्डले सुधारको लागि बोल्ड निर्णय गर्न सक्ने बुझिएको छ ।

उपकुलपतिको भूमिका विश्वविद्यालयको मात्र नभई नेपालको शिक्षाको भविष्यलाई आकार दिन र विद्यार्थीको सिकाइमा समेत प्रभाव पार्ने गरी भूमिका निर्वाह गर्नुपर्छ । उपकुलपतिले त्रिविमा मात्र नभएर नेपालभर उच्च शिक्षाको स्वरूप कस्तो बनाउने भन्ने विषयलाई प्रभाव पार्छ ।

नीति कार्यान्वयन गर्ने, महत्वपूर्ण निर्णय लिने र विश्वविद्यालयको समग्र कार्यको निरीक्षण गर्ने जिम्मेवारी उपकुलपतिको हुन्छ । यसले शिक्षाको उच्च गुणस्तर कायम राख्न, शैक्षिक उत्कृष्टता प्रवर्द्धन गर्न, र विद्यार्थीका लागि अनुकूल सिकाइ वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका उपकुलपतिको काँधमा हुन्छ । त्यसले यसपटक उपकुलपति नियुक्तिमा पहिलेभन्दा केही फरक हुने देखिएको छ ।

उपकुलपतिमा बाबुरामको चर्चासँगै प्रधानमन्त्री भइसकेका व्यक्ति त्रिविको उपकुलपति बन्लान् त ? भन्ने प्रश्न पनि उठेको छ । तर, गत स्थानीय तहको निर्वाचनमा भट्टराई आफैले प्रधानमन्त्री भइसकेपनि जनताका लागि सामान्य पद पनि सम्हाल्न तयार भएको बताएका थिए ।

एक ट्विटर प्रयोगकर्ताले बाबुराम जस्ता आँट भएका व्यक्ति नआएसम्म काठमाडौंको विकास नहुने विचार व्यक्त गर्दै प्रधानमन्त्री भइसकेका व्यक्तिलाई मेयरको प्रस्ताव गर्न मिल्ला कि नमिल्ला भनेर प्रश्न गरेका थिए ।

त्यसबेला उनले भेनका थिए-  ‘प्रधानमन्त्री भएको मान्छे मेयर बन्न गजबले मिल्छ । फ्रान्सका पूर्वप्रधानमन्त्री अहिले त्यहाँको नगरका मेयर छन् । म सधैँ साथीहरूलाई भन्ने गर्छु जीवनमा जनताका लागि केही सार्थक काम गर्ने मन छ भने सांसद ताक्ने हैन आफ्नो पालिकाको प्रमुख मेयर बन्नोस् । कसैले सुने पो । हाम्रो संस्कार जो छ ।’

अब, पूर्वप्रधानमन्त्री भट्टराई उपकुलपति बन्छन् कि बन्दैनन् भन्ने हेर्न चाहिँ केही समय कुर्नैपर्ने हुन्छ ।

दृष्टिबाट