काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाएको छ । महानगरले आज पत्रकार सम्मेलन गर्दै मंसिर २८ गते बाट सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्णरुपमा प्रतिवन्ध लगाएको जनाएको हो ।
काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२ र सूर्तिजन्य पदार्थ (निरुपण र नियमन) ऐन २०६८ को दफा ११ अनुसार सूर्तिजन्य पदार्थको नियन्त्रण गर्न खोजिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
सूर्तिजन्य पदार्थकोे नियन्त्रणका लागि पसलमा नियमित अनुगमन गर्ने र सुर्तिजन्य पदार्थ बिक्री गरेको पाइएमा दुई पटकसम्म जफत गरिने र तेस्रो पटकमा पसल बन्द गरिने महानगरले जनाएको छ । त्यस्तै, सार्वजनिक स्थलबाट धुम्रपान गरे त्यहाँ निकालिने र एक सय रुपैयाँसम्म जरिवाना तोकेको प्रवक्ता मानन्धरले बताए ।
त्यस्तै, सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि बिभिन्न चार क्षेत्रमा १० जनाका दरले नगरप्रहरी परिचालन गर्ने र अनुगमनको लागि गरी पहिलो चरणमा ५० जना नगर प्रहरी परिचालन हुने र सादा पोसाकमा समेत नगर प्रहरीले अनुगमन गर्ने महानगरले जनाएको छ ।