Breaking News

बेनी सामुदायिक विद्यालय देशभरिमा सातौँ उत्कृष्ट विद्यालयका रूपमा घोषित

म्याग्दी, बेनी, मङ्सिर २७ । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारस्थित बेनी सामुदायिक विद्यालय देशभरिमा सातौँ उत्कृष्ट विद्यालयका रूपमा घोषित भएको छ ।

नेपाल सरकार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुसन्धान तथा गुणस्तर सुधार शाखाले आर्थिक वर्ष २०७९–०८० मा गरेको मूल्याङ्कनमा बेनी सामुदायिक देशभरका विद्यालयमध्ये सातौँ उत्कृष्ट विद्यालयका रूपमा घोषित भएको हो ।

सुधार शाखाले फरक सूचकको आधारमा विद्यालयले गरेको असल अभ्यासहरूको सङ्कलन,प्रकाशन,प्रोत्साहन र प्रबोधीकरण कार्यक्रमतर्फ सात वटा प्रदेशका २१ विद्यालयहरूको स्थलगत अनुगमन गरी निर्धारित सूचक अनुसार मूल्याङ्कन गर्दा गण्डकी प्रदेशतर्फ द्वितीय स्थान र नेपालभरिमा सातौँ स्थानमा पर्न सफल भएको हो ।

गुणस्तर सुधार शाखाले ७ प्रदेशका २१ वटा विद्यालयहरूको स्थलगत अनुगमन गरी निर्धारित सूचक अनुसार मूल्याङ्कन गर्दा गण्डकी प्रदेशमा दोस्रो र नेपालभरि ७ औँ स्थानमा विद्यालय पर्न सफल भएको विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

गुणस्तर सुधार शाखाले हरेक प्रदेशका ३ वटा विद्यालयको स्थलगत अनुगमनमा विद्यालयले गरेको असल अभ्यासहरूको सङ्कलन, प्रकाशन, प्रोत्साहन र प्रबोधीकरण कार्यक्रम तर्फ कार्यसम्पादन मूल्याङ्कनमा ८८ अङ्क प्राप्त गरेको हो ।

देशभरी र गण्डकी प्रदेशमा नतिजा सुधार देखिएको छ, यो नतिजाबाट धेरै उत्साहित छौ । विद्यालयको थप शैक्षिक गुणस्तर सुधार गर्न हामीलाई अहिलेको नतिजाले हौसला मिलेको छ ।’’ विद्यालय उत्कृष्ट हुनुमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक, विद्यार्थीको साथै सरोकारवाला निकायको योगदान रहेको बिद्यालय प्रशासनले बतायो ।

कार्यसम्पादन मूल्याङ्कनका आधारमा पनि देशभरमा १२ औँ स्थानमा पर्न सफल भएको छ। २०११ सालबाट अस्थायी रूपमा सञ्चालन भएको विद्यालयले २०३३ सालमा सरकारबाट मान्यता प्राप्त गरेको थियो ।

२०६३ सालदेखि माध्यमिक तहको परीक्षामा सहभागी विद्यालयले हरेक वर्ष सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ । वि।सं २०७० सालमा नेपालकै सर्वोत्कृष्ट विद्यालयको सम्मान प्राप्त गरेको थियो । विद्यालय शैक्षिक भ्रमणको थलोका रूपमा पनि विकास भएको छ । हालसम्म देशभरका १ सय ६० विद्यालयले सामुदायिक तथा ६ सय ५५ विद्यालयका प्रअहरूले यस विद्यालयको भ्रमण गरिसकेका छन् ।

लेखक : कृष्णबहादुर कार्की