संसारकै सबैभन्दा धेरै तलब थाप्ने सीईओहरु

एजेन्सी

काठमाडौँ । प्रमुख कार्यकारी अधिकारी अर्थात् सीईओहरुको तलब सधैँ चर्चाको विषय हुने गर्छ । संसारमा यस्ता सीईओहरु पनि छन् जसले बर्सेनि औसत कर्मचारीको तुलनामा सयौँ गुणा बढी तलब, सुविधा थापिरहेका छन् । आम कर्मचारीहरूलाई हात मुख जोर्न गाह्रो भइरहँदा सीईओहरुले बोकी नसक्नुको तलब पाउनुले यिनीहरूको तलब सुविधाबारे चासो धेरै हुने गरेको छ ।

विश्वको सबैभन्दा ठुलो वैकल्पिक लगानी व्यवस्थापन कम्पनी ब्ल्याकस्टोनका सीईओ स्टेफन ए. स्र्वाजम्यानले २५ करोड ३० लाख डलर घर लगेका छन् । ब्ल्याकस्टोनको शेयर मूल्यमा भएको वृद्धिसँगै स्वार्जम्यानलाई कम्पनीले दिएको बेच्न मिल्ने शेयरको मूल्य बढ्दा समग्रमा तलब सुविधामा उनले सबैलाई पछाडि पारेका हुन् ।

दोस्रो स्थानमा गुगलको मातृ कम्पनी अल्फाबेट इंकका सीईओ सुन्दर पिचाई छन् । पिचाईले समीक्षा अवधिमा तलब सुविधा बेच्न मिल्ने शेयर आदि गरेर २२ करोड ६० लाख डलर पाएका छन् । कार भाडामा दिने अमेरिकी कम्पनी हर्जका सीईओ स्टे्फन एम शेर्रले  १८ करोड २० लाख डलर घर लगेका छन् । शेर्रले कम्पनीको कायापलटमा महत्त्वपूर्ण खेलेका थिए ।

अमेरिकी एक्सरसाइज उपकरण निर्माता तथा सञ्चार कम्पनी पेलोटनका सीईओ बेरी म्याकर्थीले पनि १६ करोड ८० लाख डलर तलब सुविधा बुझेका छन् । पाँचौँ स्थानमा भने लाइभ नेशनका माइकल रापिनो छन् । रापिनोको तलब सुविधा १३ करोड ९० लाख डलर छ । अमेरिकी बहुराष्ट्रिय कम्प्युटर प्रविधि कम्पनी ओ¥याकलकी साफ्रा क्याट्जले यो वर्ष १३ करोड ८० लाख डलर घर लगेकी छिन् ।

यो वर्ष साढे १२ करोड डलर कमाएर सरेप्टा थेराप्युटिक्सका डगलास एस इङग्राम सबैभन्दा धेरै कमाउने सीईओको सूचिमा सातौं स्थानमा छन् । सूचिको आठौं स्थानमा रहेका सामाजिक सञ्जाल कम्पनी पिन्टरेष्टका बिल रेडीले पनि १२ करोड ३० लाख डलर हात पारेका थिए । सीएस डिस्कोका किवी क्यामराले ११ करोड डलर तलब सुविधा थाप्दा आइफोन निर्माता कम्पनी एप्पलका सीईओ टिम कुकले पनि ९ करोड ९० लाख डलर पाएका छन् ।