काठमाडौँ । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले काठमाडौँका ६ वटा ट्राभल्सका सञ्चालकलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको आरोपमा ट्राभल्स सञ्चालकहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको हो ।
एडभान्स म्यानेजमेन्ट मल्टिपल ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डेलाई पनि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा प्रहरीले नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललाई पनि पक्राउ गरेको छ । सो प्रकरणमा हालसम्म २१ जना पक्राउ परेका
छन् ।