१७ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) मा सहभागी हुन १३ मंसिरमा संयुक्त अरब इमिरेट्सको दुबई गएका प्रधानमन्त्री आज स्वदेश फर्किएका हुन् ।
शनिबार कोप–२८ मा सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र बढी जोखिममा रहेको बताएका थिए । उनले नेपाली जनता जलवायु परिवर्तनमा न्यून योगदान भएर पनि बढी समस्या भोग्नुपरेको भन्दै यसको अन्त्य हुनुपर्ने धारणा राखेका थिए ।
प्रधानमन्त्री प्रचण्डले स्वेदफिर्ता पछि त्रिभुवन विमानस्थलमा पत्रकारसम्मेलनमा भने, कोप–२८ बाट आफू सन्तुष्ट रहेको छु । नेपालले पर्वतीय मुलुकहरुको नेतृत्व गर्दै आफ्नो मुद्दा जोडदारसँग राखेको भन्दै उनले राम्रै आर्थिक सहयोग आउने दाबी गरे ।
सम्मेलनभन्दा अगाडि राष्ट्रसंघका महासचिवले गरेको नेपाल भ्रमणको विश्वव्यापी प्रभाव परेको पनि उनले बताए । ‘मेरो अध्यक्षतामा जुन राउण्ड टेबल भयो, सबैले नेपालको प्रशंसा गर्नुपर्ने भयो’ उनले भने, ‘मूल स्टेटमेन्ट पनि यो पटक हामी माग्न आए जसरी निरीह भएर प्रस्तुत हुने होइन । अधिकारको निम्ति योद्धा जसरी प्रस्तुत हुने भनेको थिएँ, त्यस्तै भयो ।’
नेपालले पर्वतीय मुलुकको नेतृत्व गरेको र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि नेपाललाई प्राथमिकतामा राखेकाले आर्थिक सहयोग आउनेमा ढुक्क रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । सम्मेलनबाट आफू सन्तुष्ट रहेको भन्दै उनले भने, ‘पोलिसी लेभलमा हाम्रो बलियो उपस्थिति भयो । अब नेपाललाई माइनस गर्न सक्दैन ।’