Breaking News

नेपाल एयरलाइन्समा बदनामी र बदमासीमा कार्यकारी अध्यक्ष युवराज अधिकारीको मुख्य भूमिका

काठमाडौं । गौरवमय इतिहासको जगमा उभिएको राष्ट्रिय ध्वजावाहक ‘नेपाल एयरलाइन्स’ अनेकौँ बदनामीको पर्याय बनेको
छ । नेपाल एयरलाइन्ससँग लौडा र धमिजाजस्ता बदनामीका अनेकौँ काण्डहरू जोडिन्छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स आफै बदनाम छैन । चरण–चरणमा राजनीतिक र प्रशासनिक नेतृत्वले बदनामकीको पगरी गुथाएका छन् । जुन बदनामी र बेथितिको बोझले उठ्नै मुस्किल हुने गरी थला परेको छ ।

नेपाल एयरलाइन्सको मातृ संस्था हो, नेपाल वायुसेवा निगम । तालुक मन्त्रालय हो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय । र, यिनै संरचनाका नेतृत्वबाट बदनाम गराइएको छ, नेपाल एयरलाइन्स ।

सँगै विश्व उडान सुरु गरेका विश्वासका धेरै निगमहरूले विश्व बजार कब्जा गरिसके । तर, नेपाल एयरलाइन्स चरम भ्रष्टाचारको सिकार बन्यो । नेपाल एयरलाइन्सलाई राजनीतिक र प्रशासनिक नेतृत्वले भ्रष्टाचारको माध्यम बनाएका छन् ।

नेपाल एयरलाइन्सको बदनामी शृङ्खला निरन्तर छ । बुधवार राति पनि बदनामी नै कमायो । यो बदनामी र बदमासीमा कार्यकारी अध्यक्ष युवराज अधिकारीको मुख्य भूमिका रह्यो ।

प्रधानमन्त्री राष्ट्रिय ध्वजावाहकमार्फत कोप–२८ मा सहभागी हुन दुबई जाने तालिका थियो । तर, प्रधानमन्त्रीसँगै अधिकारी पनि उडे । यो उडानमा कार्यकारी अध्यक्ष अधिकारी प्रधानमन्त्रीसँगै जानुपर्ने कुनै कारण थिएन । तर, चरम भ्रष्ट छवि बनाएका अधिकारी प्रधानमन्त्री प्रचण्डको चाकडी गर्न सँगै उडे ।

प्रधानमन्त्रीसँग अधिकारी सँगै दुबई जानु ठूलो कुरा थिएन । तर, श्रम बेचेर सपना सजाउन दुबई जान लागेका ३१ जना युवालाई विमानस्थलमै अलपत्र पार्ने गरी अधिकारीले चाकडी गर्नु चाहिँ गलत थियो । अधिकारीकै निर्देशनमा जहाज निर्धारित समयभन्दा दुई घण्टा पहिले नै उडेको थियो ।

अधिकारीले चाकडी गर्न दुई घण्टा पहिले जहाज उडाएका हुन् । तर, बदनामी भने प्रधानमन्त्री र ध्वजावाहक जहाजले कमाएको छ । ‘प्रधानमन्त्रीका कारण अन्य यात्रु छोडेर पहिले नै जहाज उठाइयो’ भन्दै प्रधानमन्त्रीको समेत व्यापक आलोचना भइरहेको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीलाई उक्त उडान अगाडि सारिएकोबारे जानकारी गराइएको थिएन । त्यस कारण वायुसेवा निगमले तय गरेकै टिकटको समयमा प्रधानमन्त्री विमानस्थल पुगेका थिए ।

दुबई पुगेपछि सर्वत्र आलोचना भएको थाहा पाएपछि प्रधानमन्त्रीले कार्यकारी अध्यक्ष अधिकारीलाई किन यस्तो गरियो ? भन्दै प्रश्न गरेको स्रोतले बताएको छ । उनले ‘त्यस्तो केही भएको छैन’ भन्दै टारेका छन् । अधिकारीको उक्त हर्कतबाट प्रधानमन्त्री रुष्ट भएको बताइएको छ ।

नेपाल एयरलाइन्स स्रोतका अनुसार कार्यकारी अध्यक्ष अधिकारीकै जोडमा उक्त उडान दुई घण्टा अगाडि सारिएको हो । उडान अगाडि सार्दा पर्ने असुविधाबारे पूर्व जानकारी गराउने विषयमा निगममा छलफल भए पनि अधिकारीले नै ‘आवश्यक छैन’ भन्दै रोकेका थिए । त्यस कारण टिकट काटेर विमानस्थल पुगेका यात्रु अलपत्र परेका हुन् ।

करोड रकम बुझाएर कार्यकारी अध्यक्ष नियुक्त भएका अधिकारी निगमबाटै लाखौँ कमाउने खेलमा लागेका छन् । उनले हरेक कामबाट कमिसन लिएर लुट च्याइरहेको सार्वजनिक सञ्चार माध्यममा प्रकाशित–प्रसारित समाचारले पुष्टि गर्छ । तर, उनलाई कारबाही गर्ने आँट कसैले गर्न सकेका छैनन् ।

पैसाकै भरमा राजनीतिक नेतृत्वलाई प्रभावमा पार्दै आएका अधिकारीले पछिल्लो समय पनि पैसा बुझाएरै लुट धन्दा चलाइरहेका छन् । अधिकारीले चलाएको लुट तन्त्रमा तालुक मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकाय पनि मौन छन् ।

लामो समयदेखि भ्रष्टाचारको अखडा बनेको वायुसेवा निगम अधिकारीको नेतृत्वमा झनै लुटिएको छ । यसरी, भ्रष्टहरूलाई निगम सञ्चालनको जिम्मा लगाउँदै जाने हो भने इतिहासै नामेट हुन्छ ।

वायुसेवा निगमको विकासका लागि सबैभन्दा पहिला अधिकारी जस्ता भ्रष्टहरूलाई कारबाही गरिनुपर्छ । सँगै, नेपाल एयरलाइन्सलाई भ्रष्टाचार गर्ने थलो बनाएका राजनीतिक नेतृत्वलाई पनि कारबाही गरिनु पर्छ । अनि मात्र वायुसेवा निगमको उन्नति हुन्छ ।