Breaking News

परराष्ट्रमन्त्री एनपी साउद नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि कतार जाने

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि मङ्सिर २३ मा कतार जान लागेका हुन् ।

हाल इजरायल र हमासबीच बन्दी रिहाईका लागि भएको युद्धविराममा दुवै पक्षले कब्जामा रहेका बन्दीहरु रिहाई गरिरहेको भएपनि रिहाइ हुने समुहमा जोशी पर्न सफल भएका छैनन्।

यसअघि मङ्सिर ८ गते परराष्ट्र मन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए ।

परराष्ट्र मन्त्री साउदले आज (बुधवार) गृह जिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुवा आमासँग पनि भेट गरेका छन् । कतार बसाइँका क्रममा उनी दोहा २१ औँ फोरममा पनि सहभागी हुनेछन्। डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ।