काठमाडौैं । संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सुरुमै अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक बैठक बोलाएर त्यहाँका कर्मचारीलाई एक दर्जन प्रश्न गरेका थिए ।
विमानस्थलमा बेथिति बढेपछि आकस्मिक बैठक राखेर उनले् ककर्मचारीलाई गरेको प्रश्न सामाजिक सञ्जालमा भाइरल भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थलका पदाधिकारीसँग विमानस्थलमा ब्यागेज चोरी हुने, विमानस्थलभित्र सरसफाइ अभियानदेखि त्यहाँ राखिने पसलहरुको बारेमा पनि जिज्ञासा राखेका थिए ।
ब्यागेज चोरिएका घटनाहरु सत्य हो ? अराइभलमा यात्रु लड्ने विद्युतीय भर्याङ के हुँदै छ, कहिलेसम्ममा बनिसक्छ ? सरसफाइ अभियान के कस्तो चल्दै छ ? समयमा जहाज उड्दै छ कि छैन ? यात्रुमैत्री एयरपोर्ट बन्दै छ कि छैन ? एयरपोर्टभित्र महँगी नियन्त्रण भयो कि भएन ? ब्रेकबिनाको ट्रली फेर्ने काम कहाँ पुग्यो ? शौचालय भित्र बजिरहेको सङ्गित किन बन्द भयो ? महिला शौचालयमा सेनिटरी प्याड राख्ने काम के भयो ? एयरपोर्ट अगाडिको ब्युटिफिकेसन के भयो ? एयरपोर्टभित्र कुकुर र बाँदर कसरी पस्यो ? एयरपोर्ट भित्र वाइफाई प्रभावकारी किन चल्दैन ? यस्ता प्रश्न गरेपछि लाग्थ्यो कि पर्यटनमन्त्रीले एयरपोर्टमा हुने सबै बेथितिको अन्त्य गर्दैछन ।
तर उनका यी प्रश्न केवल सामाजिक सञ्जालमा देखाउन मात्रै काम लाग्यो । विमानस्थलका पसलबाट लुुटपाट चलिरहेका छैन । केही समय अगाडि मन्त्री किरातीले अनुगमन नै गरे पनि कअवस्था उस्तै छ । सर्वोच्च अदालतको स्टे अर्डरको भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित कफीसप मुद्दा फिर्ता लिएको झण्डै डेढ वर्ष पुगिसक्दा पनि अझै सञ्चालन भइरहेको छ ।
देशको मूख्य र सामरिक महत्व अनि नेपाली सेनाको एक मात्र हवाइअड्डा समेत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राज्य भन्दाबाहेकका गैरकानुनी व्यक्तिहरुको खुला पहुँच जहाजको ढोकादेखि आगमन र भन्सारको गोदामसम्म छ भन्दा आश्चर्य लाग्न सक्छ ।
राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय तस्करहरुको जालो तोड्न संसारका कुनै पनि विमानस्थलभित्र गैरराज्यपक्षको उपस्थिति हुँदैन । अध्यागमनदेखि जहाजको ढोकासम्मको क्षेत्रलाई अन्तर्राष्ट्रिय सीमाको रुपमा समेत परिभाषित गरिन्छ । यस्तो अवस्थामा त्यहाँ विवादास्पद व्यपारीले वर्षौँसम्म आप्mनो कब्जामा राख्न सफल भएका छन् ।
२०६९ चैत २६ गते विवादास्पद ब्यापारी सुवास श्रेष्ठले गोपालबाबु श्रेष्ठको नाममा पुरानो स्टेराइल कक्षको लवीमा कफीसप सञ्चालन गर्नका लागि विमानस्थलसँग सम्झौता गरेका थिए । विमानस्थलले उक्त ठाउँ भत्काई नयाँ संरचना निर्माण गर्ने भन्दै २०७६ असार १९ गते ३५ दिनभित्र सो पसल रहेको स्थान खाली गर्न कफीसप सञ्चालक श्रेष्ठलाई पत्र काटेको थियो ।
तत्कालीन महाप्रवन्धक राजकुमार क्षेत्रीले पत्र काटेपछि श्रेष्ठ त्यसविरुद्ध सर्बोच्च अदालत गएर स्टे अर्डर ल्याई पसल अझैसम्म सञ्चालन गरिरहेका छन् ।
सर्वोच्च अदालतले २०७६ साउन २० मा श्रेष्ठले सोही स्थानमा पसल सञ्चालन गर्न पाउने गरी ‘स्टे अर्डर’ जारी गर्यो । पटक–पटक पेशी तोकिएपनि तीन वर्षसम्म उक्त मुद्दाको छिनोफानो नभएपछि अन्ततः श्रेष्ठले २०७९ बैशाख २५ गते आइतबार सर्वोच्चमा दायर गरेको मुद्दा फिर्ता लिए ।
स्टे अर्डरको भरमा २०७६ सालदेखि विमानस्थलको अतिसंवेदनशिल स्टेराइल क्षेत्रभित्र कफीसप सञ्चालन गर्दै आएका श्रेष्ठले मुद्दा फिर्ता लिएको १८ महिना वितिसक्दा पनि पसल भने उनै महानिर्देशक अधिकारीको संरक्षणमा सञ्चालन गरिरहेका छन् ।
अधिकारीकै आर्थिक स्वार्थ रहेका कारण विमानस्थल प्रशासनले अवैध रुपमा कफीसप सञ्चालन गरिरहेका श्रेष्ठलाई अहिलेसम्म कुनै कारबाही गर्न सकेको छैन ।
तत्कालीन संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसँग सेटिङ मिलाएर विमानस्थलका निर्बतमान महाप्रबन्धक भोला गुरागाई, प्राधिकरणका तत्कालीन महानिर्देशक राजकुमार क्षेत्री, हालका महानिर्देशक प्रदिप अधिकारी र तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई प्रभावमा पारेर श्रेष्ठले स्टे अर्डरको भरमा कफीसप सञ्चालन गर्दै आएको प्राधिकरण स्रोतले भन्यो ।
त्यतिखेर श्रेष्ठले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका भाइ प्रभु राणासँग सेटिङ गरी स्टे अर्डर जारी गराएको स्रोतको दावी छ । सर्वोच्च अदालतले जारी गरेको स्टे अर्डर अनुसार श्रेष्ठले पुरानो सम्झौता भएको स्थानमा कफीसप सञ्चालन गर्न पाउनु पर्ने हो । तर, सो कफीसपबाट नै आगलागी भएर बिमानस्थलको पुरानो स्टराईल क्षेत्रमा समेत ठूलो क्षती पुगेपछि श्रेष्ठलाई महानिर्देशक अधिकारीले नयाँ बनेको स्टेराइल कक्षभित्र कफीसप सञ्चालन गर्न दिएका छन् ।
सो पसलबाट सल्कीएको आगोले पुरानो स्टराईल क्षेत्रमा समेत ठूलो क्षती पुर्याएको थियो । सर्वोच्चले स्टे अर्डर जारी गरेको स्थान नै आगोलागी भएर नष्ट भएको अवस्थामा श्रेष्ठले तत्कालिन पर्यटनमन्त्री प्रेम आले र महानिर्देशक अधिकारीलगायतलाई आर्थिक प्रभावमा पारी गतल तरिकाबाट कमिटी गठन गर्न लगाई सो कमिटीको सिफारीस अनुसार नियम बिपरित कफीसप सञ्चालन गर्दै आएको खुलेको छ ।
कफीसपका कारण विमानस्थालमा परेको सुरक्षा असरका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । तर, श्रेष्ठले कफीसप सञ्चालन गर्न पाउनुपर्ने मुद्दा नै फिर्ता लिइसकेको अवस्थामा अख्तियारले पनि कुनै कारबाही प्रकृया अगाडि बढाउन सकेको छैन । महानिर्देशक अधिकारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट एक विचौलियालाई प्रयोग गरी अख्तियारलाई प्रभावमा पारेर कारवाहीबाट जोगिदै आएका छन् ।
यसैगरी एक वर्ष अघि भएको सरसफाईको ठेक्कामा पनि महानिर्देशक अधिकारीले ठूलो आर्थिक चलखेल गरेको खुलेको छ । सुनगाभा श्रेष्ठ सगरमाथा जेभीलाई २३ करोड ९३ लाख ९६ हजार ६२७ रुपैयाँको सरसफाइको ठेक्का दिलाउँदा डिजी अधिकारीले राम्रै लाभ लिएको विमानस्थल स्रोत बताउँछ ।
सो ठेक्का सम्झौताको बुँदा नं. ८.२ मा तीन महिना बराबरको नगदै रकम बैंकमा जम्मा गर्नुपर्नेछ भन्ने उल्लेख भए पनि अहिलेसम्म उक्त रकम जम्मा गरिएको छैन । रकम जम्मा नै नगरेपनि सिभिल महाशाखा प्रमुख हरि अधिकारीले महानिर्देशक प्रदिप अधिकारीको निर्देशनमा ठेक्का सम्झौता गरेका थिए ।
ठेक्का सम्झौतामा हस्ताक्षर गर्ने उपनिर्देशक हरि अधिकारी र ठेकेदारको मिलोमतोमा यो बिषयलाई गुपचु्प राखिएको छ । कानून विपरित दिलाइएको ठेक्काकै कारण काम पनि हुन सकेको छैन । तलव नपाएको भन्दै अन्तर्राष्ट्रिय टर्मिनल तर्फका सफाई मजदुरहरुले गत असोजमा हड्ताल गरेका थिए ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार अत्यावश्यक सेवामा पर्ने सरसफाइ सेवाको काम ४ घण्टा ३० मिनेट ठप्पहुँदा पनि महानिर्देशक अधिकारी र बिमानस्थल प्रशासनले ठेकेदारलाई कुनै कारवाही गर्न सकेन । ठेक्का सम्झौतामा २४ घण्टाभित्र ३ सिफ्टमा काममा लगाइने भनि उल्लेख गरिएको छ । प्रकाश ढकाल, रमेश ढकाल, एमाले सांसद अम्मर रायमाझीलगायतका सरसफाइका ठेकेदारहरुले अनावश्यक व्यक्तिहरुलाई एयरपोर्टको पास उपलब्ध गराएर गैरकानूनी धन्दा चलाइरहेको विमानस्थल स्रोत बताउँछ ।
यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री गंगा दाहालसँग सेटिङ मिलाई अधिकारी महानिर्देशक पदमा टिकिरहन सफल भएका छन् । मन्त्री किरातीले श्रेष्ठमाथि छानविन प्रक्रिया अगाडि बढाएपछि महानिर्देशक अधिकारी पद जोगाउन एक बिचौलिया बोकेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निवास पुगेका थिए ।
यस्तो विमानस्थलजस्तो अन्तन्त्यै संवेदनशील क्षेत्रमा विमानस्थल भन्सार कार्यालयले निजी सुरक्षा गार्ड भाडामा लिएर राज्य कै निकायबाट गैरकानूनी कार्य गरिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वागत गेटदेखि हवाइजहाजको ढोकासम्म गैरराज्य पक्ष कै रजगज छ ।
त्यसको पछिल्लो उदाहरण हो, स्टारफोर्स सेक्युरिटी कम्पनी । सुरुमा विमानस्थल भन्सार कार्यालयको गेटमा पाले बस्न टीआईए छिरेको स्टारफोर्स अहिले संवेदनशील क्षेत्रमा खाइखेलिरहेको छ । बेरोकटोक खटिँदै आएको खुलेको छ । विमानस्थल स्रोतका अनुसार विमानस्थलभित्र निजी सुरक्षागार्डहरु जहाजको ढोकादेखि अध्यागमनसम्म भन्सार विभागको पास लगाएर निर्वाध घुमिरहेका हुन्छन् ।
स्टारफोर्स सेक्युरिटी कम्पनीका ९ जना सुरक्षागार्ड २४ घण्टा विमानस्थलका चोक चोक कुना कुनामा पुगेर काम गर्दै आएको त्रिभुवन विमानस्थल कार्यालय उच्च स्रोतले जनाएको छ ।
विभानस्थलको अराइभल अर्थात् आगमनमा स्टार फोर्स सेक्युरिटी कम्पनीका सुरक्षागार्ड खटिएका छन् । ति सेक्युरिटी सोझै हवाइजहाज उडान, अवतरण तथा कार्गो ओराल्ने देखि व्यागेज, लगेज स्क्यानर एवं गेटपास सर्वत्र पहुँच
राख्छन् ।
विदेशबाट आउने यात्रु एवं कार्गोको सुरक्षा, चेकजाँच तथा स्क्यान तिनै स्टार फोर्सका सेक्युरिटीले नै गर्ने गरेको भन्सार कार्यालयकै एक कर्मचारीले बताए ।
‘स्क्यानर मेसिनमा जम्मा भन्सार कार्यालयका १ जना जाँचकी डिउटी गर्छन् । भन्सारका ति कर्मचारी कुनै बेला झ्याप्प निदाइ पनि हाल्छन् । स्क्यानर मेसिन भने आफ्नै रफ्तारमा चलिरहन्छन् । ‘व्यागेज, लगेज, कार्गो स्टार फोर्सका सेक्युरिटीले हेरफेर गर्छन् र सम्बन्धित स्टोर वा क्याविनतिर धकेल्दिन्छन् । प्रहरीले झोला वा व्यागेज, लगेज छुन मिल्दैन ,’ विमानस्थलभित्रैका प्रहरीको गुनासो छ ।
विमानस्थल भन्सार कार्यालयका एक जना अधिकारी भन्छन्, ‘व्यागेज, लगेजहरु उचाल्ने, ओसार्ने गर्नु पर्ने हुन्छ । यस्तोमा सुरक्षाकर्मीलाई काम अह्राउनु भएन । सेक्युरिटी गार्ड भए, काम लगाउन सजिलो हुन्छ भनेर यसो गरिएको हुनुपर्छ ।’ भन्सार कार्यालयले जे वहाना गरे पनि स्टारफोर्सको विमानस्थल प्रवेश गलत रहेको र राष्ट्रिय सुरक्षामा खतरा रहेको विमानस्थलमै एक प्रहरीले भने ।