Breaking News

दुर्गा प्रसाईंको विरोध प्रदर्शनमा धर्मगुरु त्रिसुलसहित उग्र अभिव्यक्तिसँगै सडक अवरुद्ध पार्न खोजेपछि पक्राउ

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले सोमबार पनि काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नतृत्वको महाअभियानले गत ७ मंसिरदेखि नै विरोध प्रदर्शन गर्दै आएको छ । आज धर्मगुरुको अगुवाईमा काठमाडौंस्थित गौशालामा आन्दोलन गरेको हो ।

प्रदर्शनमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पनि उपस्थित भएका छन् । प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित गएर उनले उग्र अभिव्यक्ति दिएका छन् । गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अवरुद्ध पार्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

उनले गत असोज १२ जनकपुरमा आयोजित धार्मिक सभामा ‘खुकुरी’ देखाउँदै उत्तेजक भाषण गरेका थिए । त्यसबेला पनि उनी पक्राउ परेका थिए । श्रीनिवासले २५ चैत २०७४ मा धार्मिक हिंसा भड्काउने उद्देश्यसहित आफैंलाई गोली हान्न लगाएका समेत थिए ।

यसअघि सो अभियानले ललितपुरस्थित बल्खु र काठमाडौँको सिफल चौरमा विरोध प्रदर्शन गरेको थियो ।

सोमबार गौशालाको मूल सडक कब्जा गर्दै आन्दोलन सुरू गरेपछि केही समय नेपाल प्रहरी र प्रसाईं समर्थकबीच झडपको स्थिति सिर्जना भएको थियो ।

लगत्तै प्रहरीले बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिएको छ भने प्रदर्शन कोणसभामा परिणत भएको छ ।