काठमाडौं । रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । एक महिनामात्र मात्र चलेर स्थगित गरिएको उक्त बस सेवा ११ वटा बस थपेर पुरानै रुटमा आजबाट पुनः सञ्चालन गरिएको हो ।
यसअघि २५ वटा बस चलाइएको थियो । थप ११ वटा समेत गरी अब रत्नपार्क–सूर्यविनायक रुटमा ३६ वटा बस चल्ने छन् ।
ती बस आज बिहान साढे ८ बजेदेखि तीन–तीन मिनेटको अन्तरमा सूर्यविनायकबाट रत्नपार्क प्रस्थान गरेका छन् ।
सूर्यविनायकदेखि रत्नपार्क साढे १० बजेसम्म चल्ने र दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि सूर्यविनायकसम्म चल्ने गरी तालिका बनाइएको छ ।
यसअघि ती बस रत्नपार्क र सूर्यविनायक दुवै तर्फबाट ५–५ मिनेटको फरकमा छुट्थे र दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म तथा अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म चल्थे । द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन बसहरु थपिएको र समय तालिकामा पनि केही संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताए ।
यात्रुहरुलाई छिटो गन्तव्य पुग्न सहज होस् भनेर मन्त्रालयले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि द्रुत बस सेवा सुरु गरेको थियो । तर, यो सेवा प्रभावकारी नभएपछि एक महिनामै कार्तिक ४ गतेदेखि स्थगित गरिएको थियो ।