प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा राम्रो संगठन बनाउन नसकेको भए ‘जनयुद्ध’ १० वर्षसम्म अघि बढ्न नसक्ने बताएका छन्।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुसीराम पाख्रिनको छैटौं स्मृति दिवसको सन्दर्भमा आयोजित स्मृति ग्रन्थ लोकार्पण गर्दै उनले यस्तो बताएका हुन्।
उनले भारतमा राम्रो संगठन नबनाएको भए नेपालमा गणतन्त्र ल्याउन मुस्किल हुनेसमेत बताए।
प्रधानमन्त्री प्रचण्डले भारतमा बलियो संगठन हुनुमा दिवंगत खुसीराम पाख्रिनको योगदान रहेको स्मरण गरे। कार्यकर्तादेखि लड्ने योद्धाहरूसम्मको सहयोग भारत प्रवासमा रहेका नेपालीहरूबाट पाएको पनि सम्झिए।
प्रधानमन्त्री दाहालले पाख्रिनको स्मृति ग्रन्थले भावि पुस्तालाई उनको योगदानको बारेमा बुझाउन सघाउने बताए।
(न्युज एजेन्सी नेपालबाट)