Breaking News

दुर्गा प्रसाई एमाले नेता र उनीहरूका घर छोएमा पुच्छर ठाडो पारेर फाँटैफाँट लखेट्ने महेश बस्नेतको चेतावनी

काठमाडौं । एमाले नेता तथा राष्ट्रिय युवासंघ नेपालका इन्चार्ज महेश बस्नेतले गणतन्त्र विरोधी दुर्गा प्रसाईँलाई एमाले नेता कार्यकर्तालाई छोएर देखाउन चुनौती दिएका छन् ।

एमाले पार्टी कार्यालय च्यासलमा शुक्रवार युवा संघको दोस्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता बस्नेतले बिहीबार प्रसाईँ समर्थकले हेटौँडा र कलंकीबाट तीनकुने हिँडेका आफ्ना कार्यकर्तामाथि आक्रमण प्रयास भएको भन्दै युवा संघ सशक्त भएकाले प्रतिरोध गर्न सफल भएको बताए ।

बस्नेतले युवासंघलाई जुध्न बाध्य नपार्न चेतावनी दिए । युवासंघ टक्कर लिनेले ठक्कर खाने उनले बताए । उनले भने,  ‘युवासंघसँग टक्कर लिनेले ठक्कर खान्छ । आज पनि म सुन्दैछु श्रीलङ्का बनाउने रे ! नेताहरूका घर हान्ने रे । तिम्रा बाउका तागत छ भने एमाले नेताका घरहरू छोएर हेर । हिम्मत छ भने एमालेका समर्थक शुभचिन्तकहरूलाई छोएर हेर , एमाले पङ्क्ति अरिङ्गालको गोला जस्तो हुनेछ ।’

उनले एमाले नेता र उनीहरूका घर छोएमा पुच्छर ठाडो पारेर फाँटैफाँट लखेट्ने चेतावनी दिए । बस्नेतले युवासंघलाई आन्तरिक एकता बलियो बनाउन आग्रह पनि गरे । अहिले एमालेविरुद्ध षड्यन्त्र भइरहेकाले आफूहरु एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘गलत बाटामो मुलुक जान लागेपछि सही बाटोमा डोहोर्‍याउन हामीले नेतृत्व गरेका छौं । आफ्नो आन्तरिक एकतालाई बलियो बनाउनुपर्छ ।’

उनले गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंलाई लक्षित गर्दै अहिले एमालेमाथि सोसल मिडियाबाट प्रहार भइरहेको बताए ।

बस्नेतले भने, ‘हामीले साइबर सर्कललाई व्यवस्थित गर्नुस् । हाम्रो विरुद्ध आक्रमण भइराख्दा युथ फोर्सलाई जगाउने कि नजगाउने रु हिजो पनि तैनाथ रहेको युथ फोर्स आज पनि तैनाथ छ । जुनसुकै बेलापनि आजभोलिमा रचनात्मक काम गर्छौँ । सिटी बजाएको भरमा दुईचार हजार मान्छे युवा संघले काठमाडौंमा उतार्छ । परिआयो भने हामी रचनात्मक काम गर्छौँ । अरु गर्दैनौं ।’