काठमाडौंको बल्खुमा बिहीबार दिनभरजसो प्रर्दशन गरेपछि साँझपख भक्तपुर पुगेर दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गरे।
उनले झापा जाँदा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र भक्तपुर छिर्दा महेश बस्नेतले आफूसँग अनुमति लिनुपर्ने अभिव्यक्ति दिए।
प्रसाईं यतिमै रोकिएनन्। थपे, ‘भोलिदेखि हाम्रो आन्दोलन जारी रहन्छ। बिहान ११ बजे खाना खाने अनि जाने सिंहदरबार। उनीहरूको निषेधाज्ञाले केही हुनेवाला छैन। भोलिदेखि दोब्बर हुन्छ। काठमाडौंका पसल बन्द हुन्छ। जनविद्रोह त घरघरमा भइरहेका छन् नि!’
यसअघि बल्खुमा बिहीबार दिउँसो कोणसभामा बोल्दै प्रसाईंले ‘नेपालमा विद्रोहको विरूवा रोपिएको’ बताएका थिए।
‘मैले भनिसकेँ, यो जनविद्रोह आजदेखि सुरू भयो। नेपालमा विद्रोहको विरूवा रोपियो। तपाईंहरूले भोलिदेखि नेतालाई जहाँ भेट्नुहुन्छ त्यहाँ भकुर्ने। हिजो सुकुम्बासी नेताहरूका अहिले काठमाडौंमा सात वटा घर छ। एउटा नेताका घरमा आठ वटासम्म गाडी छ। अब कर तिरेर अपराधीहरूलाई पाल्न सक्दैनौं,’ उनको भनाइ थियो।
उनले समर्थकहरूलाई सोध्दै ‘नेता, बैंकका सिइओ र अध्यक्षका घर रेकी गरिसकेको छ होइन?’ समेत भनेका
थिए।
उनले आफूहरू मिसन ०८४ भन्दा पनि मिसन टुडेको कुरा गरिरहेको बताए।
‘तपाईंहरू मलाई साथ दिनुहुन्छ कि हुँदैन?,’ प्रसाईंले फेरि समर्थकहरूलाई सोधे, ‘यहाँ मिसन ०८४ को कुरा छैन, मिसन टुडेको कुरा हो।’ उनले थप कुरा भक्तपुरको घरमा पत्रकार सम्मेलनमा बताउने भन्दै बल्खुबाट छुट्टिएका थिए।
प्रसाईंले शुक्रबार तीनकुनेमा भेला भएर आन्दोलन गर्ने पनि घोषणा गरे।
‘मान्छे भेला भएपछि तीनकुनेबाट ‘मास’ ले जता भन्छ त्यतै जान्छ। ७७ वटै जिल्लामा जनविद्रोह हुन्छ। नेताहरूका घरघरमा हामी श्रीलङ्का ‘स्टाइल’ले हामी जानेवाला छौं, यिनीहरूलाई खेद्नुपर्छ,’ प्रसाईंले भने।
प्रसाईंका यस्ता अभिव्यक्तिले सरकार सतर्क बनेको छ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईंले आन्दोलन गर्न प्रशासनसँग अनुमति लिने गरेका छैनन्। अनुमतिबिनै प्रसाईं पक्षले बिहीबार बल्खु क्षेत्रमा आन्दोलन गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ।
स्थानीय प्रशासन ऐनअनुसार २५ जनाभन्दा बढी भेला हुन स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने नियम छ। अनुमतिबिनै तीनकुने क्षेत्रमा आन्दोलन गर्न लागेपछि प्रशासनले प्रसाईंलाई शुक्रबार घरबाट बाहिर निस्कन रोकेको छ।
तीनकुने पुगेका प्रसाईं पक्षका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तीनकुने पुगेका मानिसहरूलाई किन नियन्त्रणमा लिएको र प्रसाईंलाई घरमै किन रोकिएको हो भन्ने प्रश्न हामीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सोधेका छौं।
गृहमन्त्री श्रेष्ठले प्रसाईंलाई ‘नजरबन्द’ मा नराखिएको बताए। ‘उहाँलाई घरमै नजरबन्दमा राखियो भन्ने ढंगले प्रचार भइरहेका छन्, यसमा सत्यता छैन,’ गृहमन्त्री श्रेष्ठले सेतोपाटीसँग भने, ‘गिरफ्तार र नजरबन्द भन्ने प्रचार झुट र काल्पनिक हल्ला मात्रै हो। उहाँलाई अनुमति लिएर मात्र कार्यक्रम गर्न भनिएको छ।’
निषेधित क्षेत्रमा कसैले पनि कार्यक्रम गर्न नपाउने गृहमन्त्री श्रेष्ठले बताए।
प्रसाईंले भक्तपुरस्थित घरमा शुक्रबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै ‘नागरिक बचाऊ भन्दा आफूलाई हाउस अरेस्ट गर्ने?’ भन्ने प्रश्न गरेका थिए।
‘दुर्गा प्रसाईं भाग्छ भनेर नजरबन्दमा राखेको छ भनेर भन्या छन् मलाई। एक जना पुलिसको साथीले पनि फोन गरेका थिए, यस्तो यस्तो खबर सुनेँ भनेर,’ प्रसाईंले घरमै पत्रकारहरूसँग भने, ‘साँच्चै भन्ने हो भने यो नागरिकका लागि आन्दोलन गर्न आएको हो, जहाँ लगेर थुन्छ थुनोस, म तयार छु।’
तर गृहमन्त्री श्रेष्ठले प्रसाईंका अभिब्यक्तिहरू ध्यानपूर्वक सुनिरहेको भएता पनि कसैलाई घरमै थुन्ने या सार्वजनिक ठाउँमा कार्यक्रम गर्नै नदिने भन्ने सरकारको कुनै योजना नरहेको बताए।
‘नेताहरूलाई जहाँ भेट्यो त्यही ठोक्ने भनेको छ, बैंकका सिइओहरूलाई कब्जा गर्ने भनेको छ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘त्यो सबै कुरा हामीले सुनिरहेका छौं। त्यसबारे के गर्ने भनेर हामीले सोचिरहेका छौं।’