Breaking News

युवा संघ र दुर्गा प्रसाईंले मंसिर ७ को कार्यक्रम एकैठाउँमा गर्न प्रशासनले नदिने

३ मंसिर, काठमाडौं । युवा संघ र दुर्गा प्रसाईंले ७ मंसिरका लागि तोकेको कार्यक्रम एकैठाउँमा गर्न प्रशासनले नदिने भएको छ ।

दुवै पक्षले ७ मंसिरमा बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलबाट शक्ति प्रदर्शन गर्ने निर्णय गरेका थिए । तर, शान्ति सुरक्षाको अवस्था मध्यनजर गरेर दुवै पक्षलाई एकैठाउँमा कार्यक्रम गर्न नदिने निर्णय भएको काठमाडौंका जिल्ला प्रशासन कार्यालयले बतायो ।

‘माइतीघर मण्डल मात्रै होइन, काठमाडौंका कुनै पनि एउटै स्थान, समय र मितिमा दुई पक्षको कार्यक्रम हुँदैन’, ‘वैकल्पिक स्थानमा कार्यक्रम गर्न भनिएको छ ।

वैकल्पिक स्थानका रुपमा तीनकुने, खुलामञ्च, नारायण चौर, माछापोखरी, कीर्तिपुर लगायतका क्षेत्रमध्ये एक रोज्न भनिएको छ ।

स्रोतका अनुसार, जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ । त्यसक्रममा कार्यक्रमका लागि वैकल्पिक स्थान रोज्न निर्देशन दिने प्रशासनको तयारी छ ।

युवा संघले ७ गते आफ्नो कार्यक्रम रहेको भन्दै शान्ति सुरक्षा माग गर्दै निवेदन दिइसकेको छ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भने प्रशासन पुगेको छैन । यद्यपि, छलफलका लागि दुवै पक्षलाई प्रशासनले बोलाइसकेको छ ।

युवा संघले आफ्नो कार्यक्रमलाई ‘मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र जुनसुकै अराजकताविरुद्ध’को प्रदर्शन भनेको छ । प्रसाईंले नागरिक मुक्ति आन्दोलन भन्दै व्यवस्था बदल्ने प्रदर्शन भनेका छन् ।