काठमाण्डौं उपत्यकाका भित्री सडक र बाटोमा छेकबार लगाउनेलाई कारवाही गरिने

५ जेठ, काठमाडौं । नेपालमा कोरोनाभाइरसले मानिसको ज्यान जान थालेपछि काठमाडौं उपत्यकाका भित्री सडक र गल्लीहरूमा अहिले एम्बुलेन्स के मानिस नै छिर्न नमिल्ने गरी तारबार गरिएको छ ।

स्थानीयले मनपरी तरिकाले गरेका तारबारले अत्यावश्यक काम परेर बाहिर निस्कनलाई सास्ती भएको छ । अत्यावश्यक सेवामा काम गर्नेहरूलाई घर कार्यालय आउजाउमा समस्या भएको छ ।

गृह मन्त्रालयले भने यसरी तारबार लगाउनु कानुन विपरित भएको भन्दै कारबाही गरिने जनाएको छ ।

तपाईंको घरछेउका सडक वा गल्लीमा तारबार लगाएर बाटो छेकिएको छ, कोरोनाबाट सावधानी अपनाउने भन्दै टोलका नेतृत्वकर्ताले बाँस तेर्साएर तगारो लगाएका छन् भने तपाईंले प्रहरीलाई खबर गर्न सक्नुपर्छ ।

गृह मन्त्रालयले कुनै पनि बहानामा सडक वा बाटो बन्द गर्न नपाइने प्रष्ट पारेको छ ।

स्वास्थ्य सुरक्षा सतर्कताका नाममा बाटो बन्द गर्नेलाई कारबाही गर्ने चेतावनी गृह मन्त्रालयले दिएको हो ।

गृहका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले कुनै पनि बहानामा सडक वा बाटो बन्द गर्न नपाइने बताए ।

‘कसैले बाटो बन्द गरेको छ भने प्रहरीलाई खबर गर्न सक्नुहुन्छ । प्रहरीले थप काम कारबाही अगाडि बढाउँछ । बाटो अवरोध गर्नेलाई कानुनअनुसार कारबाही हुन्छ ।

त्यस्तै जिल्ला जिल्लाहरूमा पनि बाटो बन्द गर्ने गरेको भन्दै गृहले प्रमुख जिल्ला अधिकारीहरूलाई त्यस्तो हटाउन र अटेरी गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।