२४ कात्तिक, काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका–६, मन्दु गाउँमा एकैपरिवारका चार जनाको हत्या भएको प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
नेपालगञ्जबाट प्रहरीले दुई जनालाई पक्राउ गरेर मुगुतर्फ लगेको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो । गएको १० कात्तिकमा मन्दु गाउँमा आमासहित दुई छोरा र एक छोरी मृत अवस्थामा भेटिएका थिए ।
त्यसक्रममा प्रहरीले हालै दुई जनालाई मृतकको घरबाट चोरी गरिएका सामग्रीसहित पक्राउ गरेको स्रोतले जनाएको छ । पक्राउ पर्नेमा गोर्खबहादुर शाही र गोपाल बोहोरा रहेको प्रहरीले जनाएको छ ।
घटनामा ज्यान गुमाउनेमा छायानाथ रारा–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर थिए । हत्यापछि घरबाट सुनको औंठी, तिलहरी, लालपुर्जा र केही नगद समेत गायब भएको थियो ।
सीआईबीका एक अधिकृत भन्छन्, ‘हालसम्मको अनुसन्धानले हत्यामा लुटपाट मात्रै कारण भएको देखाएको छ ।’ पक्राउ परेकाहरुले अभियाग स्वीकार गरेको समेत प्रहरी अधिकृतहरुले बताएका छन् । पक्राउ परेकाहरुलाई शुक्रबार मुगुमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरी तयारी छ ।
मृतक श्रीदेवी छोराछोरीसहित ७ कात्तिकमा दशैंको टीका थाप्न सोही वडास्थित कोटिल्ला माइती गाउँ गएकी थिइन् । भोलिपल्ट घर फर्केका उनीहरूको सोही राति हत्या भएको आशंका गरिएको थियो ।
छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए । तर, १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरू खोजी गरेका थिए ।
त्यसक्रममा फेरि श्रीदेवी माइती गइन् कि भनेर माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले ढोका फोडेर हेरेका
थिए । त्यसक्रममा चार जना मृत भेटिएपछि प्रहरीलाई खबर छिमेकीले खबर गरेका थिए ।
अनुसन्धानका क्रममा आरोपीहरुले हत्यापछि ताला लागेर भागेको बयान दिएको प्रहरी स्रोतले बताएको छ ।