Breaking News

मालपोतका कर्मचारीलाई प्रलोभनमा पारी आफ्नो नाममा जग्गा ल्याएर बिक्री गर्ने भारतीय नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा

२३ कात्तिक, काठमाडौं । हदबन्दीबाट सरकारको नाममा आउनुपर्ने जग्गा मालपोतका कर्मचारीलाई प्रलोभनमा पारी आफ्नो नाममा ल्याएर बिक्री गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक भारतीय नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार भारतीय नागरिक अनुप मेहराले हदबन्दीभन्दा बढी भएको जग्गा ३ जना नक्कली जग्गाधनी खडा गरी उनीहरुको नाममा नामसारी गरेको र उनीहरुको मृत्यु भएको देखाएर आफ्नो नाममा ल्याएका थिए ।

उनले भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारीलाई प्रलोभनमा पारी मिलेमतो गरी गलत कागजातका आधारमा सरकारका नाममा जानुपर्ने जग्गा आफ्नो नाममा ल्याएको र बिक्री गरेको अख्तियारको भनाइ छ ।

अख्तियारले उक्त जग्गाको मूल्य ५ करोड ५ लाख रुपैयाँ बिगो कायम गरी उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।