रोकिएन परकम्प, त्रासमा इपिसेन्टर

२२ कात्तिक, जाजरकोट (रामीडाँडा) । जाजरकोट–डोल्पा सडक खण्ड अन्तर्गत नलगाडको कालिमाटीबाट भित्री बाटो लागेपछि शुरु हुन्छ भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१ रामीडाँडा ।

नलगाडबाट रामीडाँडाको दुरी २६ किलोमिटर मात्रै हो । तर बाटो कठिन भएकाले त्यहाँ पुग्न गाडिमा झण्डै दुई÷तीन घण्टा लाग्छ । पहाडका चट्टान फोरेर बनाइएको मोटरेवल बाटोमा भूकम्पपछि विभिन्न ठाउँमा निरन्तर पहिरो गइरहेको छ ।

‘कतिखेर कहाँ पहिरो जान्छ, कुन ठाउँमा माथिबाट ढुङ्गा खस्छ भन्ने भेउ पाउन मुस्किल छ,’ सुर्खेतबाट राहात र उद्धारका लागि भूकम्पको केन्द्रविन्दु पुगेका लेकवेशी सुर्खेतका युवक रमेश विक्रम हमाल भन्छन्, ‘अप्ठ्यारो बाटो र कठिन यात्रा भएरै होला, सिर्पाचौर लगायत यहाँको प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि कोही आएको देखिएन ।’

राहत र उद्धारका लागि भन्दै भूकम्प प्रभावित क्षेत्रमा गएकाहरु सदरमुकाम खलंगा, रावतगाउँ, रुकुम पश्चिमको आठविसकोट र नलगाड नगरपालिकासम्म पुगको देखिन्छ ।

जाजरकोट सदरमुकाम खलंगाबाट नलगाड नगरपालिका साढे एक घण्टामा पुगिन्छ । बाटो सहज भएकाले त्यहाँसम्म पुग्नेहरुको कमी छैन । तर कठिन र टाढाको बाटो भएकाले भूकम्पको केन्द्रबिन्दु रामीडाँडामा बिरलै मान्छेहरु पुग्ने गरेको हमाल बताउँछन् । ‘नजिक र बाटो सहज भएकाले नेता, पत्रकार, समाजसेवी सबै सदरमुकाम र आसपासमा मात्रै पुग्ने गरेका छन् । दुरदराजका गाउँमा कसैको नजर पुग्न सकेको देखिएन’ उनी भन्छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल पनि मंगलबार हेलिकोप्टर चढेर रामिडाँडा पुगे र फोटो खिचाएर फर्किएका थिए ।

शुक्रबार बारेकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा बारेकोटको भूगोल चिरा–चिरा परेको छ । घरहरु भत्किएका छन् । सिर्पाचौर, जिरी, लिम्सा, नायकवाडा लगायतका क्षेत्रहरुमा सग्ला घर भेटाउन मुस्किल छ ।

बारेकोटका ४ हजार ३ सय घरहरु भूकम्पबाट प्रभावित भएको र नागरिकहरु त्रसित रहेको बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरी बताउँन् । ‘बारेकोटका सबै घरहरु भूकम्पबाट प्रभावित छन् । बाहिरबाट हेर्दा सग्ला देखिने सबै घरहरु भित्र चिरा परेका छन्,’ अध्यक्ष गिरीले अनलाइनखबरसँग भने, ‘यो क्षेत्रमा निरन्तर पराकम्प गैरहेको छ । चर्किएका आफ्नै घर भित्र छिर्न नागरिक डराइरहेका छन् ।’

बारेकोट गाउँपालिकाको सबैभन्दा बढी प्रभावित क्षेत्र सिर्पाचौरमा पुग्दा त्यहाँका नागरिक त्रसित देखिन्थे । मंगलबार दिउँसो ४ः३१ बजे रामिडाडाँलाई नै केन्द्रविन्दु बनाएर ५.८ म्याग्निच्युडको ठूलो परकम्प गएको थियो । उक्त परकम्पले सिर्पाचौरका ३१ वटा घर भत्किएका छन् । घाइते तीन जनामध्ये दुईजनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको गाउँपालिकाका अध्यक्ष गिरीले जानकारी दिए ।

बेला–बेला आउने परकम्पले बारेकोट–४, जिरीका खड्ग बोहोरा (३६) लाई आफ्नै घर भित्र पस्न डर लाग्न थालेको छ । उनी भन्छन्, ‘हाम्रो घर अलिअलि चिरा परेको छ । तर घरभित्र बस्न डर लाग्छ ।’

उनको परिवार घर अगाडि बारिको पाटोमा त्रिपाल हालेर बसेको छ । ‘छिनछिनमा परकम्प आइरहन्छ । परकम्प आउँदा मन सिरिङ्ग हुन्छ,’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘कामले घरको छेउछाउ गइहाले पनि कतिखेर भूकम्प आउँछ र, च्यापिएर मरिन्छझैं लाग्छ ।’

त्रिपाल र राहतको आशामा चारदिन खुल्ला आकाशमुनि बिताएका स्थानीयले आफैं अस्थायी बासको जोहो गर्न थालेका छन् । भूकम्पबाट प्रभावित भएको चार दिन वित्दा पनि त्रिपाल नपाएपछि बारेकोट–४, जिरीकै दलबहादुर बस्नेत (४३) ले मकैको कन्ठा (मकैको डाँठ)को अस्थायी छाप्रो बनाएका छन् । ‘त्रिपाल पाउने आशमा तीन सात खुल्ला आकाशमुनि सुत्यौं । राति बाक्लो शित पर्छ । चिसोले छोरा बिरामी नै भएपछि घोगा (मकै)को कण्ठाले बारेर शित छल्ने ठाउँ बनाएँ,’ उनले भने ।

बारेकोटका अधिकांश नागरिक घरबाहिर खुल्ला क्षेत्रमा छन् । कोही विद्यालय, चौर, टनेल र प्रतिक्षालयमा बसिरहेका छन् । पुनः भूकम्प आउने त्रासमा रहेका उनीहरु रातभर जाग्राम बस्ने गरेको बताउँछन् ।

बारेकोट–१, सिर्पाचौरका स्थानीय हरीबहादुर घर्तीको घर पुरानो कच्ची थियो । भूकम्पले पूर्णरूपमा क्षति गर्दा उनको परिवारले घर बाहिर बारीमा आगो तापेर रात बिताए । दुई तलाको चार कोठे घर  भूकम्पले पूर्णक्षति गरेपछि उनको ५ जनाकोे परिवार घरविहीन भएको छ ।

पुस, माघमा हिउँ पर्ने सिर्पाचौरमा अत्याधिक चिसो हुन्छ । अहिल सिर्पाचौरमा जाडो बढ्दै गएको छ । पीडितहरू खुल्ला आकाशमुनि पाखा बारीमा बस्न बाध्य छन् । अधिकांश घरहरू भत्किएका र चर्किएका छन् ।

भत्किएका घरमा लत्ताकपडा, खाने अन्न तथा सम्पूर्ण जायजेथा नष्ट भएको छ । घाइते र उनीहरूका परिवारको पीडादायक रोदन सुन्न नसकिने अवस्था छ । अझै पनि भूकम्पका पराकम्प गइरहेकाले त्रासमा बाँचिरहेको उनीहरूको भनाइ छ ।

राष्ट्रपति पुगे, राहत पुगेन

भूकम्पको केन्द्रबिन्दु रामिडाँडामा मंगलबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेल हेलिकप्टरमा पुगेर अवलोकन गरे ।

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा भएको क्षति, राहत वितरणको अवस्थालगायतका विषयमा अनुगमन गर्न राष्ट्रपति मंगलबार काठमाडौँबाट सुर्खेत हुँदै भूकम्प प्रभावित जिल्ला पुगेका थिए ।

जाजरकोट खलंगामा भूकम्पले पुर्याएको क्षतिको अवलोकन गरेका पौडेलले स्थानीय प्रशासनबाट क्षतिको विवरण, राहत वितरण र भूकम्पपछिको पुनर्निर्माणका विषयमा जानकारी लिएका थिए ।

त्यसलगत्तै भूकम्पको केन्द्रबिन्दु रामीडाँडा पुगेका राष्ट्रपति पौडेलले केहीबेर अवलोकन गरे र फर्किए । राष्ट्रपति पौडेलसँगै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कर्णाली प्रदेश सरकारका अर्थमन्त्री बेदराज सिंह, कर्णाली प्रदेश सभा सांसद राजिव विक्रम शाह लगाएतको टोली थियो ।

रामिडाडाँबाट रुकुम पश्चिम गएका राष्ट्रपति पौडेल त्यहाँबाट सुर्खेत पुगेर कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका बिरामीहरूलाई भेटेका थिए । हेलिकप्टरमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री खड्का, प्रदेश सरकारका मन्त्री र सांसदहरु पटक–पटक गएर अवलोकन गरे पनि भूकम्प प्रभावितहरुले भने अझै राहत नपाएको गुनासो गरिरहेका छन् ।

४ हजार ३०० घर प्रभावित हरेको बारेकोटमा अहिलेसम्म १ हजार ९०० त्रिपाल र ७२० थान कम्बल राहतस्वरुप प्राप्त भएको र अति प्रभावित क्षेत्रमा मात्र वितरण गरिएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले अनलाइनखबरलाई बताए । ‘हामीले मंगलबारबाट राहत वितरण शुरु गरेका छौं । प्रभावित सबैलाई समेट्ने प्रयास गरिरहेका छौं,’ अध्यक्ष गिरीले भने ।

अनलाइनखबरबाट